धरान : धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले आज बिहान फेसबुकमा स्ट्याटस लेख्दै पत्रकार सम्मेलन गर्ने बताएका छन् । उनले लेखेका छन् ‘अब पत्रकार सम्मेलन गर्ने मेरो पालो ।’
मेयर साम्पाङ फेसबुक मार्फतै पत्रकार सम्मेलन बोलाउँछन् । प्रायः उनी पछि पछि युट्युबर सञ्चारकर्मीहरू भइरहने हुनाले चिट्ठीपत्र काटेर पत्रकार बोलाउन पनि जरुरी देखिन्न ।    
यसपालि के विषयमा पत्रकार सम्मेलन गर्न आँटेका हुन, त्यो भने उल्लेख गरेका छैनन् । तर, वडाध्यक्षहरू ५ सूत्रीय माग सहित मेयर सम्पाङको विरुद्धमा उत्रिएकाले त्यसै बारेमा पत्रकार सम्मेलन गर्न लागेका हुन कि भन्ने अनुमान गरिएको छ । 
हिजै मात्र धरानमा क्रियाशील ७ राजनीतिक दलहरूले मेयर सम्पाङको क्रियाकलापको विरोधमा ३ पृष्ट लामो कडा विज्ञप्ति जारी गरेका छन् ।
मेयर साम्पाङले माफी माग्नु पर्ने र सच्चिनु पर्ने माग सहित वडाध्यक्षहरू आन्दोलनमा उत्रेपछि हिजै उनीहरूले सर्वदलीय बोलाएको छलफल लगत्तै उक्त विज्ञप्ति जारी भएको हो । 
विज्ञप्तिमा भनिएको छ ‘नगर प्रमुखको कार्यमा कुनै पनि राजनीतिक दलले आज सम्म कुनै पनि अवरोध र असहयोग गरेको छैन । तर नगर प्रमुखबाट आपसी एकता र सहकार्यका लागि आज सम्म कुनै पहल र समन्वय भएको छैन ।’
मेयर साम्पाङलाई राजनीतिक दलहरूले ‘निजी सचिवालयका कर्मचारी मार्फत लेखिएको पत्र फिर्ता लिएर सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भूल सुधार गर्न’ विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
यस्तै ‘सेवाग्राही सन्तोष लिम्बु माथि भएको घट्नामा निजले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता आफूबाट भएको भूल स्वीकार गर्दै आपसी एकता, सद्भाव र सहकार्य गर्न’ विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
उक्त विषयहरुनै अहिले वडाध्यक्षहरूका आन्दोलनको माग पनि हो । मेयर साम्पाङले यी नै विषयमा पत्रकार सम्मेलन गर्न आवश्यक ठानेका हुन कि होइन त्यो कुरा फेसबुक स्ट्याटसमा उल्लेख छैन ।