धरान : पटक-पटक चुनावको बेला राजनीतिक दलहरूले धरानमा एयरपोर्ट बनाउने जनाउँदै आएको प्रतिबद्धता 'हेलीप्याड निर्माण'मा खुम्चिएको छ । 
धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा सहित काठमाडौँ गएको प्रतिनिधि मण्डलले सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग धरानमा ‘हेलिप्याड निर्माण’को योजना माग गरेको हो ।
प्रतिनिधि मण्डलले सङ्घीय सरकारसँग धरानको विकास निर्माणका लागि विभिन्न मन्त्रालयमा योजना, बजेट माग गरेको बारेमा जानकारी दिन आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा वितरित सूचिमा उक्त कुरा उल्लेख छ । 
पत्रकार सम्मेलनमा मेयर हर्क साम्पाङले नगरका धरानका ९६ वटा योजना लिएर विभिन्न मन्त्रालयमा बजेट माग गर्न काठमाडौँ गएको बताए । उपमेयर आइन्द्र विक्रम बेघा सहितको टोली ३ दिने भ्रमण सकेर बुधवार फर्किएको हो ।
मेयर साम्पाङले धरानको खानेपानी सङ्कट समाधान गर्न महत्त्वाकाङ्क्षी लक्ष्य पुरागर्न कोसी नदिबाट खानेपानी ल्याउने, जलाशय निर्माण गर्ने योजना माग गरिएको बताए । सोही महत्त्वाकाङ्क्षी योजनाले धरानमा एयरपोर्ट बनाउने धेरै वर्षदेखिको चुनावी मुद्दा 'हेलिप्याड निर्माण'मा खुम्चिएको बुझिन्छ । 
धरानमा एयरपोर्टको योजनामा सबै भन्दा बढी माओवादीले जोड दिदैं आएको हो । माओवादीले पर्यटन मन्त्रालय सम्हालेकै बेला उड्डयन प्राधिकरणले एयरपोर्टको नक्सा, योजना समेत तयार गरेको थियो । पटक पटक मन्त्रीले धरान-१७ स्थित प्रस्तावित स्थलको अवलोकन गरेका थिए ।
धरान उपमहानगरपालिकामा माओवादीबाट उपमेयर आइन्द्र विक्रम बेघा छन् । प्रतिनिधि मण्डलमा उनको सक्रिय भूमिका महत्त्वपूर्ण रहेको थियो । मन्त्रालयहरूमा प्रस्तुत योजना, बजेटका मागहरूमा आफ्नै पार्टीले घोषणापत्र देखी सबै कुरामा प्राथमिकता दिएको योजना हेलिप्याडमा खुम्चिएको हो ।
मेयर साम्पाङले पनि चुनावी एजेन्डामा खानेपानी पछि एयरपोर्टको योजनालाई प्राथमिकता दिएका थिए । हेलिप्याडको योजना माग गरेर मेयर साम्पाङले पनि एयरपोर्टको चुनावी एजेन्डालाई खुम्चाएर हेलिप्याडको योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा माग गर्न पुगेका हुन् । 
उपमहानगरपालिकाको टोलीले सङ्घीय सरकारको खानेपानी, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाई, उद्योग वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, कृषि तथा पशुपक्षी मन्त्रालयमा बजेट योजना माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
यस्तै युवा तथा खेलकुद, गृह, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग पनि बजेट माग गरेको मेयर साम्पाङले पत्रकार सम्मेलनमा बताए । उनले भने ‘महत्त्वाकाङ्क्षी लक्ष्य कोसी नदिबाट धरानमा खानेपानी ल्याउने योजनादेखि जलाशय निर्माण योजनालाई प्राथमिकता दिएका छौँ ।’
उनका अनुसार बेसार फ्याक्ट्री, साबुन फ्याक्ट्री, कपास खेती, बहुसाँस्कृतीक पार्क निर्माण, नाटक घर निर्माण लगायतका थुप्रै योजनामा बजेट माग गर्दै मन्त्रालयमा योजना पेस गरिएको छ । 
पत्रकारहरू सँग मेयर साम्पाङले भेटघाटका क्रममा प्रधानमन्त्रीदेखि मन्त्रालयका सबै मन्त्रीहरू, सबै सकारात्मक रहेको र सहजै भेटघाट भएको बताए । उनले भने ‘निकास विना विकास नहुने र विकास  बिना निकास छैन ।’
मेयरले आफू समन्वयकारी भूमिकामा रहेको बताए। वडा अध्यक्षहरू सँगको विवादका बारेमा उनले  बडाअध्यक्षहरु सँग छलफल भैसकेको बताउँदै विवादको पछाडि अन्य तत्त्वहरू लगेको बताए । उनले भने ‘मेरो भूमिका समन्वयकारी रहेको छ, बडाअध्यक्षहरुले आफ्नो अडान छोड्नुपर्छ ।’