धरान : एसइई परीक्षा दिने विद्यार्थीको सट्टा परीक्षा केन्द्रमा उत्तर पुस्तिकामा लेख्ने अर्कै डमी मानिस पठाउने कार्यमा धरानका एजुकेसन कन्सल्टेन्सीहरूको नाम प्रहरीले खुलासा गरेको छ।
प्रहरीले बुधवार र बिहीबार मोरङका तीन वटा विद्यालयबाट एसइई दिने २०१ विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । सबैभन्दा बढी केराबारी गाउँपालिका स्थित सार्वजनिक माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जनालाई पक्राउ गरेको थियो ।
झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट ५२ जना र सुन्दरहरैँचाको जनता माध्यमिक विद्यालय केन्द्रबाट २० जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक उदय शमशेर जबराका अनुसार परीक्षा केन्द्रमा नक्कली परीक्षार्थीबाट उत्तर पुस्तिका लेखाउने काम एजुकेसन कन्सल्टेनसीहरुले परिचालन गरेको खुलेको छ । 
त्यसरी उत्तर पुस्तिका लेखाउनका लागि कन्सलटेन्सीहरुले प्रति परीक्षार्थी ३० देखी ४० हजार रुपया सम्म लिएको कुरा खुलेको उनले बताए । प्रहरी निरीक्षक जबराका अनुसार त्यस्ता कन्सल्टेन्सी धरानका छन् । परीक्षा लेख्न आउने धेरै धरान र दमकका छन् । 
धरान पानवारिको एलिसा कन्सल्टेन्सी, धरान-९ आचार्य लाइनको प्यासिफिक कन्सल्टेन्सी, धरान-१० को युनिक कन्सल्टेन्सी र मोरङको उर्लाबारीको गुडविल कन्सल्टेन्सीले प्रशिक्षार्थी सँग रकम रकम लिएर उत्तर पुस्तिका लेखाउन डमी परीक्षार्थी परिचालन गरेको खुलेको उनले बताएको कुरा सार्वजनिक भएको छ ।
पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । उनीहरूले उत्तर पुस्तिकाको परीक्षा सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाई मोरङले जनाएको छ । इकाई प्रमुख टङ्क गौतमले नक्कली परीक्षार्थीहरूले दिएको सबै परीक्षा रद्द हुने बताएका छन् ।