झापा : नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीले गत निर्वाचनमा १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च गरेका छन् ।

प्रतिनिधिसभा सदस्य ओलीले निर्वाचन कार्यालयमा बुझाएको विवरणमा १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च भएको उल्लेख छ । निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण बारे उनका प्रतिनिधि रोमनाथ ओलीले सञ्चारकर्मीहरूलाई यस विषयमा जानकारी गराएका हुन् ।

खर्च विवरण अनुसार सवारी साधन भाडा तथा इन्धनमा ६ लाख ४६ हजार ५ सय रुपैयाँ, कार्यालय सञ्चालनमा ५९ हजार २ सय रुपैयाँ, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ८२ हजार १ सय ६० रुपैयाँ, नमुना मतपत्र छपाइमा १ लाख ५२ हजार हजार रुपैयाँ, पर्चा तथा ह्याण्डविल तर्फ १ लाख ८६ हजार ८ सय ५० रुपैयाँ, कोणसभा, कार्यकर्ता प्रशिक्षण खर्च अन्तर्गत २ लाख ३० हजार रुपैयाँ, मिडिया खर्चमा १ लाख रुपैयाँ लगायत अन्य विविध शीर्षकमा गरिएको खर्च अनुसार कुल १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यस्तै यसै क्षेत्रका प्रदेश सभा सदस्य होम बहादुर थापाले गत निर्वाचनमा १२ लाख १८ हजार ९ सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरिएको छ ।

उनले पनि सवारी साधन तर्फ ३ लाख ९० हजार रुपैयाँ, इन्धन खर्चमा २ लाख, पर्चा ह्याण्डविलमा १ लाख २१ हजार ५ सय रुपैयाँ, नमुना मतपत्र छपाइमा ५० हजार रुपैयाँ लगायत अन्य विविध शीर्षकमा गरिएको खर्च कुल १२ लाख १८ हजार ९ सय ३० रुपैयाँ रहेको विवरण निर्वाचन आयोगमा बुझाइएको उनका प्रतिनिधि नन्दी अधिकारीले जानकारी गराए ।