धरान : पानीपिया स्थित धरान प्रवेश नाकामा राखिएको धरान क्षेत्रको सीमा सङ्केत बोर्ड हटाएकोमा धरान उपमहानगरपालिकाले कडा आपत्ति जनाएको छ । आज दिउँसो मेयर हर्क साम्पाङले पत्रकार सम्मेलनको आयोजना गरी कडा आपत्ति जनाएका हुन् ।

पत्रकार सम्मेलनमा मेयर साम्पाङद्वारा जारी वक्तव्यमा 'सरकारले लगाएको अधिकारीक साँध सिमानाहरू भत्काउने र अराजकता मच्चाउने छुट कसैलाई छैन र हुनु हुँदैन, त्यसो भएको हुँदा कसुरवार पक्षलाई कानुनी कारबाहीको माग गर्दछु' भनिएको छ ।  

उखेलेर लगिएको धरानको सिमाना उल्लेख भएको बोर्ड यथास्थानमा पहिलेकै अवस्थामा जस्ताको त्यस्तै लगाई दिन सम्बन्धित पालिका (इटहरी उपमहानगरपालिका) र सम्बन्धित निकायहरूमा माग गर्दछु वक्तव्यमा भनिएको छ ।

‘सङ्घीय नापी विभागबाट जारी गरिएको धरान उपमहानगरपालिकाको आधिकारिक साँध सिमाना खोज्नु र आफ्नो क्षेत्राधिकार यकिन गर्नु हाम्रो कर्तव्य भएको’ वक्तव्यमा उल्लेख छ ।

‘वैशाख १० गते नगर प्रहरी र प्राविधिक टोलीलाई खटाएर धरानको दक्षिण पानीपिया सिमानामा सीमा प्रारम्भ बोर्ड लगाएको केही घण्टा पछि युवा सङ्घ इटहरीले झन्डा सहित आएर हामीले लगाएको उक्त बोर्ड उखेलेर लगेको घट्नाप्रति सम्पूर्ण न्याय प्रेमी र विधिको शासन पक्षदारहरूको ध्यानाकर्षण गराउन चाहन्छु’ वक्तव्यमा भनिएको छ ।

पत्रकारहरूको प्रश्नको जवाफमा उनले ‘जङ्गल सबै हाम्रो पर्छ, हाम्रो सिमाना खोज्नै नपाउने ?’ प्रश्न गर्दै भने ‘समन्वय समन्वय गर्नु भनिन्छ को सँग के समन्वय गर्ने ?’ इटहरी चौकमा गएर हाम्रो सीमा भन्दै गाडेका छैनौ, आफ्नो सिमाना भित्र गतिविधि गर्दा को सँग समन्वय गर्ने ? भनी मेयर साम्पाङले पत्रकारहरू सँगै प्रश्न गरे ।

मेयर साम्पाङले तर्क तथ्य सङ्गत हुनुपर्ने, नेपाल सरकारको नापी विभागले जारी गरेको सिमानाको बोर्ड हटाउनेलाई कारबाही गर्नुपर्ने माग गर्दै भने ‘एक सुता पनि सिमाना मिचिएको रहेछ भने म आफै उखेल्ने छु ।’ राती राती झन्डा बोकेर आएर साँध सिमाना उखेल्नु उद्दण्डता बाहेक केही नभएको उनले बताए ।

उपमेयर आइन्द्रबिक्रम बेघाले नापी विभागले जारी गरेको नक्सा अनुसार पानीपिया, पंचायन क्षेत्र, अमाहि सिमसार, राशताल क्षेत्र सबै धरानको सीमा क्षेत्र भित्र पर्ने बताए । अहिले उपभोग कसले गरेको छ भन्ने प्रश्न भन्दा पनि नक्सा अनुसार ‘हाम्रो सिमाना यो हो भन्न पाइन्छ’ भनी उनले बताए ।

उनले मानिस उचालेर नाराबाजी गर्दै सिमाना जस्तो संवेदनशील विषयलाई अराजक विषय बनाउने काम गर्नु राम्रो नभएको उल्लेख गर्दै भएको नक्साको आधारमा सिमानालाई स्वीकार गर्नु बाहेक अरू विकल्प नभएको बताए ।