धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रूपमा धरानका पत्रकारीताको सम्बर्धन गर्न गम्भीर बन्नका लागि सन्देश दिदैं आज पत्रकारहरूले मौन जुलुस प्रदर्शन गरेको छ ।

राज्यको चाथौ अङ्ग, लोकतन्त्रको पहरेदार पत्रकारहरू विरुद्ध मेयर साम्पाङको अमर्यादित, प्रेस स्वतन्त्रता विरोधी व्यवहार सच्याउन नेपाल पत्रकार महासङ्घ सुनसरीले थालेको आन्दोलनको पहिलो चरणको कार्यक्रमको रूपमा मौन जुलुस आयोजना गरिएको हो ।

पत्रकारहरूको आन्दोलनलाई नैतिक समर्थन गर्दै आएको धरानका सक्रिय राजनीतिक दलहरूका नेताहरू पनि मौन जुलुसमा सहभागी थिए । भानुचौकबाट सुरु भएको मौन जुलुस धरान उपमहानगरपालिकाको प्रवेशद्वार अगाडि आएर समापन गरिएको थियो ।

जुलुसका सहभागीहरू मौन भएपनि उनीहरूले छातीमा टाँसेका प्लेकार्डहरुले धेरै कुरा बोलेको थियो । उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले कार्यभार सम्हाले देखी उनले सुरु गरेको प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारीतालाई अमर्यादित भाषामा गाली गलौच गर्न नरोकिएपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।

moni-jhulus 1

मेयर साम्पाङको व्यवहार सच्याउन एवं स्थानिय सरकार धरान उपमहानगरपालिकाको स्थानिय सञ्चार नीति, धारणा लिखित रूपमा सार्वजनिक गर्न माग गर्दै पत्रकार महासङ्घ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएपनि विधि, प्रक्रिया अनुसार धारणा महासङ्घलाई नआएको भन्दै आन्दोलनको कार्यक्रम अघि बढाइएको हो ।

समापनमा महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईले मेयर साम्पाङ नसच्चिए सम्म र धरान उपमहानगरपालिकाबाट प्रेस स्वतन्त्रताप्रति लिखित प्रतिबद्धता नजनाए सम्म आन्दोलन नरोकिने बताए ।

उनका अनुसार भोली धरानका जीवित रहेका पूर्व मेयरहरूसँग उनीहरूको कार्यकालमा धरानको पत्रकारीता र नगरपालिकासँग पत्रकारहरूको सहकार्य कस्तो थियो भन्ने विषयमा अन्तरसंवादको कार्यक्रम आयोजना गरिने भएको छ ।

janapatinidhi