धरान : धरानका दुईजना युवालाई ब्राउन सुगर बोकेर बराहक्षेत्र नगरपालिका-८ स्थित दक्षिण भित्री सडकमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ परेकामा धरान-१७ का ३४ वर्षीय मनिष पाण्डे र धरान-११ का ३५ वर्षीय सूर्यकुमार राई छन् । उनीहरू प्रदेश १-०२-०४२ प ८४०३ नम्बरको स्कुटरमा चतरा तिर आइरहेका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार यसै गरी इलामको चुलाचुलीबाट एक महिला सहित २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक-२ का ४१ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय ईलामले जनाए अनुसार उनीहरूलाई मे-१-ह-३२२० नम्बरको अटोमा आइरहेको बेला चुलाचुली-२ मा चेकजाँच गर्दा ० दशमलव ४६ मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।