विराटनगर : प्रहरीले मोरङको सुन्दरहरैचा, झापाको अर्जुनधारा, भोजपुर र इलामबाट कडा लागुऔषध ब्राउनसुगर र लागुऔषध नेट्रजापामा, ट्रमाडोल, स्पासपेनको ट्याब्लेट सहित १० जनालाई आइतबार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका आरआइटी समूहको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा-९ सलकपुरबाट २६ वर्षीय मोहमद अस्लाम र २५ वर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अर्जुनधारा-१० का ३० वर्षीय बिक्रम लिम्बु र फिदिम नगरपालिका-१ का ३४ वर्षीय मदर मगरलाई ३६ ग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित प्रहरीले पक्राउ गरेको छ ।

झापाका भद्रपुर-७ बाट ३७ वर्षीय अजित विश्वकर्मा २ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् । उनको साथबाट ३ थान डिजिटल तराजु र विभिन्न कम्पनीका १६ थान मोवायल समेत बरामद गरेको छ ।

ईलामको ईलाका प्रहरी कार्यालय पशुतिनगरको प्रहरी टोलीले ईलाम-९ का २७ वर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका-१ का २५ वर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका-४ का २७ वर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ ।

झापाबाट मोटरसाईकलमा ईलाम जाँदै गरेका उनीहरूलाई ईलामको छिपिटारमा चेकजाँच गर्दा उक्त परिणामको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट नेट्रजेपामा १० ट्याब्लेट, नाविकट ६ बट्टा र ६ थान मोवायल समेत बरामद गरेको छ ।

भोजपुर नगरपालिका-६ का ३८ वर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका-३ बाट १ ग्राम ९७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले बराईलीलाई आइतबार बिहान पक्राउ गरेको हो ।

मोरङको केरावारी गाउँपालिका-६ कालापनीबाट २७ बर्षीया बिधान राईलाई लागुऔषधको ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीको टोलीले राईलाई स्सपेन १६० पिस र ट्रमाडोल १६० पिस गरी जम्मा ३२० पिस ट्याबलेट सहित पक्राउ गरेको हो ।

arrested