प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म भगवान् विष्णुको उपासना गरी मनाइने चतुर्मास व्रत आज आज हरिशयनी एकादशीको दिन व्रत वसी बिधिवत पूजा विशेष पूजा गरी सुरु गरिँदै छ । यसैगरी मुस्लिम समुदायको दोस्रो ठुलो पर्व "बकर इद" मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर मनाउँदै छन् ।बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठुलो चाड हो ।
हरिशयनी एकादशी/ तुलसी रोप्ने दिन
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन‌‌ राखिएको तुलसीको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशी " हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। यही भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास भनिएको हो।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्दछन्।
चतुर्माससमेत भनिने यस चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको छ।
बकर ईद
आज बिहान स्नान गरी उद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एक अर्कालाई इद मुबारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रश्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यताको अनुसार कुर्बानी गर्ने प्रचलन कायम राहेको छ।
कुर्वानी दिएको मासु तीन भाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिन दुःखीलाई छुट्याउने परम्परा छ । मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले आज  सार्वजनिक बिदासमेत दिएको छ।