आज श्रावण महिनाको दोस्रो सोमबार । आज धरानको पिण्डेश्वर मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । सनातन धर्ममा सोमवारलाई महादेवको बार मानिन्छ । यो दिन शिवजीको व्रत, उपासना गर्ने विधान रहेको छ । त्यसमा पनि साउनको सोमवारको विशेष महत्त्व रहेको छ । 
कसरी बस्ने व्रत ?
बिहान सबेरै उठेर सूर्योदय पूर्व शिवलिङ्गमा जलार्पण गर्नुपर्छ । त्यसपछि फलाहार ग्रहण गरी, दिनमा शिव भजन-कीर्तन आदि गर्दै मध्याह्नमा सक्नेले पुनः शिवलिङ्गमा जलार्पण र बेलुकी साँझमा पुनः शिवलिङ्गमा जलार्पण गर्नुपर्छ। तर नसक्नेले दिनमा दुई चोटि र त्यो पनि नसक्नेले दिनमा एक चोटि जलार्पण गरेर सोमवारको व्रत बसे मनोवांछित प्राप्त हुने शास्त्रमा उल्लेख रहेको छ । 
सोमबारको व्रत बस्नेले  दिनमा फलाहार ग्रहण गरी  साँझपख एकछाक मात्र भोजन खानुपर्छ । दूध र फल खाएर दिनभरि व्रत बस्नुपर्छ । यतिवेला शिवजीको पूजा गर्नाले माता पार्वती र शिवजीलाई सँगै सम्झेर पूजा गर्नुपर्छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्नु पर्दछ। 
सोमवारको व्रत गर्नेहरूले अभक्ष्य अर्थात् तामसी भोजन खानु हुँदैन । एक छाक सात्त्विक खाना खानुपर्छ। तर फलफूल सेवन गर्न निषेध छैन । तर व्रत भन्दैमा दिनभरि बारम्बार फलाहार खान हुँदैन। शरीरलाई आवश्यक फलाहार ग्रहण गरी शिवोपासनामा लिन हुनु पर्छ।सोमवारको व्रत गर्दा सेतो फूल र बेलपत्र, धतुराको फूल आदि शिवलिङ्गमा चढाएर पूजा गर्नुपर्छ ।
सोमवारको अङ्क २ हो, यसले चन्द्रमाको (आइत-सूर्य, सोम-चन्द्र, मङ्गल-मङ्गल ग्रह आदि) प्रतिनिधित्व गर्दछ । चन्द्रमा मनको सङ्केतक हो अनि चन्द्रमा भगवान शिवको मस्तकमा पनि विराजमान छन् । ‘चन्द्रमा मनसो जात:’ अर्थात् ‘चन्द्रमा मनको मालिक हुन्’ । तसर्थ मनको नियन्त्रण अनि नियमनमा चन्द्रमाको भूमिका हुन्छ । यसको सोझो अर्थ यो हो कि साधकले मनलाई नियन्त्रित गर्दा मुक्ति पाउँछन् । त्रिगुणातीत भाव प्राप्त गर्दछन् अनि यही नै साधकको जन्ममरणबाट मुक्तिको आधार बन्छ ।
सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यस कारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई खुसी पार्छ । त्यसैले यो महिना व्रत बसी शिवजीको व्रत र पूजा गरे आफू, श्रीमान्, सन्तान, एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अन्य दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।