काठमाडौँ : ललितपुरमा जर्मन महिला मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

सोमबार बिहान ललितपुर महानगरपालिका-१६ नाग बहाल स्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एडेलहैड सेनेकेनबर्गर मृत फेला परेकी थिइन् ।

घटना शङ्कास्पद देखिएका कारण तालिम प्राप्त कुकुर ‘रोज’लाई घटना स्थलमा ल्याएर अनुसन्धान थालिएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । ‘अपराध स्थलमा रोजले कुनै प्रकारको गतिविधि देखाएन । सानो सुराक मात्र दिएको भएपनि शङ्का गर्ने ठाउँ हुन्थ्यो ’, उनले भने ।

तीनकुने हत्या प्रकरण सुल्झाउन रोजले महत्त्वपूर्ण भूमिका खेलेको थियो । यस घटनामा पनि कुनै सुराक नभेटिइरहेका बेला प्रहरीले रोजको प्रयोग गरेका हुन्  । 

ललितपुर प्रहरी प्रवक्ता एवं एसपी नवराज कार्कीका अनुसार मृतक सेनेकेनबर्गर करिब दुई वर्षदेखि त्यहाँ एक्लै बस्दै आएपनि हप्तामा एक दुई दिन मात्र अपार्टमेन्टमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।