झापा : एसियन हाइवेको मापदण्ड अनुसार निर्माण सुरु भएको पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा-लौकही सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । ठुला समस्या भन्दापनि अहिले स-साना समस्याहरू मात्रै देखा परिरहेको पाईएको छ ।

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६० किमी सडक मात्र ठेक्का लागेर काम सुरु भएको छ । सडक आयोजनालाई पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।

काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलो मिटर सडक दमकमा रहेको कार्यालयले र सीतापुरीबाट इटहरी पश्चिम पचरुखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । जसमा पूर्वी खण्डमा समग्रमा ३ प्रतिशत काम भइसकेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए । केही स्थानमा रुख कटान गर्नै बाँकी रहेको र माटो फिलिङको कामहरू भइरहेको पन्तले जानकारी दिए ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा स्तरोन्नति सुरु भएको हो । आयोजना निर्माणमा ३० करोड डलर लाग्ने अनुमान गरिएको छ । कूल ९५ दशमलव ७६० किलोमिटर सडक क्षेत्रभित्र साना र ठुला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् ।

पूर्वी खण्डमा २१ वटा पुल निर्माण हुनेछन् भने एक सय ४० वटा बक्स कल्भर्ट रहेका छन् । सो मध्ये पाइल फाउन्डेसन विधिबाट केर्खा खोला र कमल खोलामा पुल निर्माण भइरहेको र ८० वटा कल्वर्ट निर्माण जारी रहेको प्रमुख पन्तले बताए । उनका अनुसार पूर्वी खण्डका पुलको जग निर्माण पाइलको काम २५ प्रतिशत पूरा भइसकेको छ । झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् ।

गत फेब्रुअरी २ बाट ठेक्का लागू भएको आयोजना तीन वर्षमा सम्पन्न गर्नुपर्ने, थप एक वर्ष त्रुटि सच्याउने अवधि र थप पाँच वर्ष मर्मत अवधिसमेतको ठेक्का लागेको र निर्धारित समयमै काम सम्पन्न हुनेमा आफूहरू आसावादी रहेको योजनाको पूर्वी खण्डका प्रमुख पन्तले जानकारी गराए । ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेन सहित निर्माण हुनेछ । ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् ।

नेपालको कालिका र तुङ्गी कन्स्ट्रक्सन सँग चाइनिज कम्पनीले जोइन्डमा सडक निर्माण गर्नेछन् । हाल धमाधम 'साइट क्लियरेनस' भइरहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले जानकारी दिएका छन् ।