धरान : मेयर हर्क साम्पाङलाई उपमहानगरपालिका कार्यालयलाई जनमैत्री बनाउन, कार्यशैली र आचरण सुधार गर्न धरानका मुख्य ५ राजनैतिक दलले आग्रह गरेका छन् ।

धरान-१४ निवासी सञ्चारकर्मी सन्जीता धमलालाई नगर प्रमुखको निर्देशनमा नगर प्रहरी र नेपाल प्रहरीको टोलीले हातपात र लछार पछार गर्दै दुर्व्यवहार गरी अपमान पुर्णढंगले पक्राउको प्रयास गरेकोमा दलहरूले आपत्ति जनाएका हुन ।

नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज), जनता समाजवादी धरान अध्यक्ष ताजुव लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरान अध्यक्ष रेवती रमण राईद्वारा शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरिएको हो ।

विज्ञप्तिमा निर्वाचित मेयर साम्पाङले एउटा निहत्था महिलामाथि आफ्नै कार्यकक्षमा बोलाएर गरेको निन्दनीय र अभद्र व्यवहारले आम धराने जनताको इज्जत प्रतिष्ठा माथि आँच पुर्‍याएको उल्लेख छ ।

मेयर पदमा निर्वाचित भए देखी साम्पाङले जनताको मतद्वारा निर्वाचित जन प्रतिनिधि, आफ्नो कुरा राख्न पाउने हरेक नागरिकको अधिकार बन्देज गर्ने प्रयास पटक पटक भएको उल्लेख गर्दै वक्तव्यमा नगर प्रमुखबाट भइरहेका यस्ता अराजक तथा अभद्र व्यवहारले उनी गम्भीर र जिम्मेवार नभएको  औँल्याइएको छ ।

राजनैतिक दलहरूले घटनामा संलग्न दोषी उपर कारबाहीको लागी सम्बन्धित निकायलाई अनुरोध समेत  गरेका छन् ।Sanjita-Press-release-Kapur