श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा गरी मनाइँदै छ ।
आजको दिन बिहानै उठी स्नान गरी सुद्ध भई दीप, कलश, गणेशको पूजा गरी गोबरको नाग अथवा नागको मानचित्रमा दही, दूबो, कुश, सिन्दुुर, चन्दन षोडशोपचार आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।
स्कन्द पुराणका अनुसार आज नागको पूजा गर्नाले सम्पूर्ण मनोकामना पूर्ण हुन्छ भनी वर्णन गरिएको छ । घरको मूल ढोकामा नागको तस्बिर सहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको आजकै दिन पूजा आराधना गरिन्छ ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
वराह पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ । नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि चल्दै आएको छ।
भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।साथै समुद्र मन्थन गर्दा वासुकी नागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ।
नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरू बताउँछन् । घरको जग खन्दा नागको शिर विचार गरी जग खन्ने प्रचलन सदियौँ देखी नेपाली समाजमा रहँदै आएको छ। भाद्र, आश्विन र कार्तिकमा पूर्व, मङ्सिर पुष र माघमा दक्षिण, फाल्गुन चैत्र र वैशाखमा पश्चिम तथा जेठ असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ ।
सर्पको श्वासप्रश्वास प्रणालीका कारण वायु मण्डलमा भएको कार्वनडाइअक्साइड कम हुने विभिन्न अनुसन्धानले देखाएका छन् । अर्थात् सर्पले शरीरको तापक्रम वृद्धि हुँदा बढी कार्वनडाइअक्साइड लिने र कम फ्याँक्ने गर्छ । फलस्वरूप वायुमण्डलमा कार्वनडाइअक्साइड क्रमिक रूपमा घटिरहेको हुन्छ । विश्वव्यापी तापमान वृद्धिमा कार्वनडाइअक्साइडको भूमिका रहेको हुन्छ । तर यदि सर्पको संरक्षण गर्ने हो भने इको सिस्टम मात्रै सन्तुलित हुँदैन, कार्वनडाइअक्साइडको मात्रामा समेत न्यूनीकरण हुन्छ ।
यसरी हेर्दा, नाग वा सर्पको वैज्ञानिक महत्त्व समेत रहेकाले ऋषिमुनिले नाग जातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।









































































