धरान : चतरा स्थित कोशी मूल नहरको इन्टेक मास्तिर भदौ ४ गते दिउँसो पानी परिरहेको बेला एक अधबैँसे मानिस किनारमा बसिरहेका थिए । नदीमा बाढीको भेलबाढी रहेको थियो ।
स्थानिय युवाहरू उनलाई कोशीको भेलले लैजाने सम्भावना देखेर बचाउन कराउँदै नजिक जाँदै थिए । दुर्भाग्य उनीहरू जसै नजिक पुग्न लागेका थिए, ती मानिस आफै भेलमा हाम्फाले । हेर्दाहेर्दै उनलाई कोशीले लग्यो ।
इलाका प्रहरी कार्यालय चतराका अनुसार सप्तकोशीमा हाम्फालेर आत्महत्या गर्ने उक्त व्यक्ति ५२ वर्षीय नेत्रप्रसाद पहाडी भएको पछिबाट पुष्टि गरेको थियो । पहाडीले बराह बचत तथा ऋण सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गराउन नसक्दा बाध्य भएर आत्महत्या गरेको उनको परिवारबाट खुलेको छ ।
श्रीमान्/ श्रीमती दुवै बराहका कलेक्टर :
धरान-१६ मा डेरा गरी बस्ने पहाडीको श्रीमती मेनुकादेवी धमला बराह सहकारीमा कलेक्टर काम गर्थिन । धमलाले मासिक ३० देखि ४० लाख बचत उठाउने गर्थिन ।
उनलाई पेट सम्बन्धी रोगले सताउँदै गयो र २०७२ साल देखी रोगले साह्रै च्यापेपछि उनी घर नजिकै नजिक बचत रकम उठाउने गर्थिन । उनका श्रीमान् पहाडी पनि पेय पदार्थ रक्सीको मार्केटिङ गर्ने भएकाले पहाडीले टाढा टाढा र आफू जाने ठाउँको बचतकर्ताहरूमा गएर बचत रकम उठाएर धमलालाई सहयोग गर्थे ।
दुवै जनाले गरेर १ सय जना बचतकर्ताहरूको लगभग ६० लाख रुपैयाँ र व्यक्तिगत बचत ५ लाख जम्मा गरेको धमलाले बताइन् । उनका अनुसार आफूलाई बिरामीले झन् च्यापेर बेडरेष्ट गर्नुपर्ने भयो ।
त्यस अवस्थामा पहाडीले नै बचत उठाउने काम गरे । पछि बराह डुब्दै छ भनेर थाहा पाएपछि १ महिना जति बचत रकम दुवैले उठाएनन् । श्रीमती धमलाका अनुसार बचत रकम नउठाएको थाहा पाएपछि बराहका सिइयो शिव लामिछानेले आफूलाई भेट्ने भन्दै फोन गरे ।
बराह डुबेपछि बचतकर्ताका धम्की 
भोलीपल्ट श्रीमान्/ श्रीमती दुवै गएर लामिछानेलाई भेटे । लामिछानेको अनुरोधमा फेरी बचत रकम उठाएको धमलाले बताइन । बराह डुबे पनि बचत रकम उठाउँदै लगेर बुझाएको तर पछि बराह पुरै डुबेपछि बचतकर्ताहरूले पनि बचत जम्मा नगरी फिर्ता माग्न थाले ।
बचतकर्ताको धेरै दबाब परेपछि बचत फिर्ता गर्न पटक पटक बराह बचतका अध्यक्ष मान बहादुर दियाली र गङ्गा कालिकोटे र सिइयो लामिछानेलाई भेटे पनि रकम फिर्ता दिने आश्वासन मात्र पाए ।
लामो समय सम्म बचत रकम फिर्ता नभएपछि बचत कर्ता घर घेराउ गर्न आए । श्रीमती मेनुकाले भनिन् ‘आफ्नो स्वास्थ्य स्थिति खराब भएकोले श्रीमानले बचतकर्ताको प्रेसर खप्नु परेको थियो ।’
ऋण लिएर बचत फिर्ता
श्रीमानलाई पटक पटक बचतकर्ताले धम्काउने, थर्काउने, घर घेर्ने छोराहरूलाई ‘तेरो बाउ फटाहा,फोन उठाउँदैन’ भन्दै बेइज्जत गर्न थाले । उनले भनिन् ‘बचतकर्ताको धम्कीका कारण सयकडा ३ रुपैयाँ व्याजमा ऋण काढेर बचतकर्ताको पैसा फिर्ता गरेका थियौँ ।’
व्याज बापत हाल सम्म मासिक ७२ हजार तिर्ने गरेको उनले बताइन । ब्याज तिर्दै आफूसँग भएको रकम फिर्ता गरे पनि पछिल्लो समय सानो पेटको आन्द्रा (क्रोन्स डिजिज)मा समस्या आएपछि अप्रेसन गर्नु जरुरी भयो ।
५ बजे फर्कन्छु भनी फोन गरेका थिए
अप्रेसन गरेको १ हप्ता पनि भएको थिएन । श्रीमानले ब्याज तिरेर आफूलाई फोन गर्दै ‘के गर्दैछौं ब्याग फेर्‍यौ ?, बाबुहरू कता छन् ?, घाउ सफा गर्‍यौ ? म ५ बजे तिर मात्र आउँछु’ भन्दै फोन राखेको बताइन् ।
मेनुकाका अनुसार फोन गरेको आधा घण्टापछि फेरी श्रीमान् पहाडीकै मोबाइलबाट फोन आयो उठाउँदा प्रहरीले फोनमा ‘तपाईँको श्रीमान् तँ कोशीमा हाम्फाल्नु भयो भन्यो ।’ उनले भनिन् ‘म त लल्याक लुलुक भएर के गरौँ कसो गरौँ भएँ ।’
२ छोरालाई बोलाएर हतास हुँदै उनीहरूले घट्नाको प्रहरीले फोन गरेको कुरा सुनाएको उनले बताइन् । छोराहरूले आफन्तहरूलाई फोन गरे । दुई तिरबाट पाइप ब्याग लगाएको आफ्नो अवस्थामा यस्तो बज्रपात भएको उनले बताइन् ।
श्रीमती गम्भीर बिरामी
मेनुकालाई २० गते डाक्टरले अप्रेसनको तयारीका लागि भेट गर्न आउनु भनेको जेठा छोरा निर्मल पहाडीले बताए । निर्मलले भने ‘ममीको अर्को सानो आन्द्राको अप्रेसन गर्नुछ बाबाको पत्तो छैन कसरी यस्तो अवस्था सामना गर्नु ?'
छोरा निर्मलका अनुसार घरमा त्यस्तो केही समस्या थिएन बाबालाई बराह बचतकर्ताको बढी प्रेसरले गर्दा नै आत्महत्याको बाटो रोज्नु बाध्य बनाएको होला । उनले भने ‘आफूलाई पनि एक जना अङ्कलले तेरो बाउ कता गयो फोन समेत उठाउँदैन, फटाहा भन्दै कराउनु भएको थियो ।’
बराहकै कारण बाबाले हामीलाई समेत नभनी यस्तो बाटो रोज्नु भएको उनको भनाई छ । यस्तो खबर फैलिए पनि बराह सञ्चालकहरूले एक कल फोन समेत नगरेको उनले बताए । उनले भने ‘यो कस्तो विडम्बना बराहले पैसा खान्छ, हामीले परिणति भोग्नु पर्ने कस्तो नियति हो ?’
पैसा खाने बराह, मर्नुपर्ने बाबा ? 
आफ्नो बाबा आमाले बराहमा बचत सङ्कलन गरेर ठुलो भुल गरेको हो कि भन्दै उनले आज बराह कै कारण बाबा गुमाउनु पर्‍यो, पैसा खाने एउटा चोट पाउने हामी भन्दै ‘बाबाले कहिले अरूको एक पैसा नखाएको’ बताए ।
अरूको पैसा नखाने मात्र होइन अरूको पैसा दिई हाल्नु पर्छ भनेर तलब आउने बित्तिकै दोकान तिर हामीले बाकी खाएको पैसा तिर्नु जाने गरेको उनको भनाई छ । उनले भने ‘तर आज बचतकर्ताको रकम हामीले खाए झैँ भयो हामीलाई सानै उमेरमा छोडेर जानु भयो।’