धरान : धरान उपमहानगरपालिकाको चुनावमा धरानमा खानेपानीको अभाव हुन नदिने मुख्य नाराले चुनाव जितेका नगर प्रमुख हर्क साम्पाङले पानीकै सङ्कट देखाउँदै रित्तो गाग्री लिएर भानुचौकमा प्रदर्शन गरेका छन् ।
उनी २०७९ वैशाख ३० मा भएको चुनाव जितेर नगर प्रमुख भएका हुन । प्रमुखको पदमा बसेको २ वर्षका अवधिमा धरानमा खानेपानीका लागि भनेर उनले गरेका कामहरू निकै चर्चामा आए ।
नगर प्रमुख साम्पाङ आफै अहिले खानेपानीको लागि सरकारले सहयोग गरेन भन्दै विरोधमा रित्तो गाग्री बोकेर आईतबार भानुचोकमा प्रदर्शन गरेका हुन ।
प्रमुख साम्पाङले रितौ गाग्री नै बोकेर भानुचौकमा भाषण गरे । उनले सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको कारण रित्तो गाग्री बोकेर भानुचोकमा सरकारको विरुद्ध विरोधमा निस्किनु परेको बताए ।
उनले साह्रै पो पत्याएन हौ मलाई तँ, भित्र पस्न दिन्छ कि दिँदैन रहेछ हेर्छु भनी बताउँदै भने ‘भोली खानेपानी मन्त्रालय, अर्थमन्त्रालय विभिन्न मन्त्रालय यही कुच्चिएको गाग्री बोकेर जान्छु ।’
सरकारले बजेट नै नदिएको बताउँदै रित्तो गाग्री बोकेर काठमाडौँ एक्लै जाने बताए । अरू बेला पटक पटक फाईल बोकेर जाँदा पनि नपत्याएको कुरा बताउँदै भने ‘यो पटक रित्तो गाग्री बोकेर जान्छु भेट गर्न दिँदो रहेछ कि दिँदो रहेनछ हेरौँ ।’
खानेपानीको एजेण्डा लिएर प्रमुख बनेका साम्पाङ २ वर्षपछि रित्तो गाग्री प्रदर्शनमा उत्रनुले प्रत्यक्ष रूपमा २ वटा कुरालाई प्रस्ट्याएको छ ।
पहिलो कुरा प्रमुख साम्पाङले अहिले सम्म गरेका खानेपानी कामहरूबाट पनि धरानको खानेपानी समस्या समाधान हुन सकेको छैन । दोस्रो कुरा धरानको दिर्घकालिन खानेपानी समस्या समाधान सङ्घीय सरकार सहितको ठुलो योजना बिना सम्भव छैन ।
धरानको खानेपानी समस्या समाधान गर्ने बाचा लिएर नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले निर्वाचन जित्नुको एउटै कारण थियो धरानको खानेपानी समस्या समाधान गर्नु । त्यसका लागि राजनीतिक दलहरू नगर प्रमुख साम्पाङसँग सहकार्य गर्न तयार थिए ।
धरानको खानेपानी समस्या हल गर्न वैकल्पिक ठुलै योजना चाहिने सवाल राजनीतिक दलहरूले उठाउँदै आएका छन् । प्रमुख साम्पाङले भने राजनीतिक दलहरूसँग सहकार्य गर्नुको साटो शत्रुतापूर्ण व्यवहार गर्दै आएका छन् ।
नगर प्रमुख साम्पाङ एक्लै खानेपानीको समस्या समाधान गर्छु भनी चुनाव जिते लगत्तै श्रमदानको अभियान लिए खोला, खोल्सा धाउन थालेको सर्वविदितै छ ।
त्यसमा साम्पाङलाई धराने मात्र नभएर विदेशका नेपालीहरूले समेत करोडौँ आर्थिक सहयोगको ओइरो लगाए । प्रमुख साम्पाङले बर्खायाममा कोकाह, सर्दु , खर्दु, निशाने, पकुवाबाट पानी ल्याउन करोडौँ रकम सहयोग जुटाएर काम गरेपनि पानीको समस्या जस्ताको त्यस्तै छ ।
धराने जनताले खानेपानीको समस्या समाधान गर्नका लागि साम्पाङ लाई नगर प्रमुखमा जिताएका थिए । २ वर्षमा पनि समस्या समाधान नहुँदा अहिले आफै रित्तो गाग्री बोकेर भानुचौकमा उत्रनु आफ्नो राजनीति जोगाउने काम मात्र भएको राजनीतिक दलका नेताहरूले बताएका छन् ।
उनले रित्तो गाग्री प्रदर्शन गरेको प्रतिक्रिया स्वरूप सामाजिक सञ्जालमा साम्पाङले आफ्नो लाज ढाक्न पचाउन रित्ते गाग्री प्रदर्शन गरेको टिका टिप्पणी समेत गरेका छन् । सङ्घीय र प्रदेश सरकार सँग समन्वय नगरेको पनि बताएका छन् ।