धरान : धरानका नगर प्रमुख हर्क साम्पाङले ‘मुन्धुम मुन्धुम भनेर ढोल बजाउँदै साकेला मात्र नाचेर केही नहुने’ बताएका छन् ।
उनले मुन्धुम कहाँ लेखिएको छ ? भनी प्रश्न गर्दै ढुङ्गामा अभिलेखमा लेखिएको मुन्धुम नहुने बताउँदै इमानदार मान्छेको बोलीमा शक्ति हुने र त्यो शक्ति आफू मात्र भएको बताए ।
धरान–१७ स्थित साकेला पार्कमा बुधवार नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भाषण गरेकोमा ‘मुन्धुम’ बिग्रिएको फेसबुक स्ट्याटस लेखेका साम्पाङले आज शनिवार सोही मञ्चबाट उक्त अभिव्यक्ति दिएका हुन ।
उनले आज बाढीले पुर्याएको क्षतितर्फ सङ्केत गर्दै फेसबुकमा लेखेका थिए ‘साकेला थानमा को को छिराउँदा के हुँदो रैछ थाहा भो होला नि, प्रकृति रिसायो, अशुभ भयो कि भएन ? फटाहा राजनीति ।’
उक्त स्ट्याटसले साकेला पार्कमा ‘अरूलाई’ प्रवेश दिनु नहुन गलत आशय व्यक्त भएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको थियो । त्यसै बिच किरात राई यायोक्खाको जिल्ला स्तरीय साकेला शिली प्रतियोगितामा आज नगर प्रमुख साम्पाङ प्रमुख अतिथिको रूपमा भाषण गरिरहेका थिए ।
साकेला नाचेर मात्र केही हुँदैन
उनले साकेला शिली नाच्नेहरूलाई इङ्गित गर्दै भने ‘साकेला नाचेर मात्र हुँदैन श्रम गरेर माटो छुए मात्र मुन्धुम पूर्ण हुन्छ ।’ इमानदारिता नभएका किराँती मान्छे मुन्धुम पढेर, मुन्धुम भन्दै शिली नाचेर मात्र केही नहुने उनको भनाई थियो ।
‘हर्क साम्पाङ हुनु ईमान्दारीताको कारण हो’ भन्दै नगर प्रमुख साम्पाङले भने ‘ढोलको चर्को आवाज निकालेर मात्र हुँदैन ढोलको आवाज अव अर्को तरिकाले बुझ्नु पर्दछ ।’ त्यो अर्को तरिका के हो त्यो भने उनले बताएनन् ।
यसअघि बोलेका निवर्तमान नगर प्रमुख तिलक राईको भनाई ईगित गर्दे साम्पाङले प्रकृतिवादी मान्छे भएकाले प्रमुख अतिथिको भूमिका निर्वाह गर्न आएको बताउँदै भने ‘हर्क साम्पाङ भएकाले वरिपरि फोटो र भिडियो खिच्नेको लर्के लागेको छ ।’
किरातीहरुको राजा हर्क साम्पाङ
देशमा राजतन्त्र ल्याउने तत्त्वहरू सलबलाएको बताउँदै साम्पाङले भने ‘अव राजा ल्याउने भए किराँतीको राजा हर्क साम्पाङ हुन्छ ।’म छु एउटा उम्मेदवार ..... भनेर भन्न मिल्दैन किरातीहरु यलम्बर राजाको सन्तान भएकाले किराँतीहरू लगायत जातीहरूले पनि आआफ्नो जातिको राजा घोषणा गर्नु पर्ने बताए ।
आफू किराँती राजा बन्न लायक भएकोले राजा बनाउने भए उनलाई राजा बनाउन आव्हान गर्दै नगर प्रमुख साम्पाङले भने ‘योग्यता र क्षमताको आधारमा टेम्पु चालक, सफारी चालक र चिया पसले पनि देशको अग्रस्थानमा पुग्ने वातावरण बनाउनु पर्छ।’
हङकङको पैसा नआएर केही हुँदैन
हङकङमा श्रम भिषाको बारेमा उनले भने ‘नेपालीहरूले मलाई श्रम पिता भनेर श्रमभिषा लगाएका हुन ।’ उनीहरूले हेपेर श्रमभिषा लगाएकै कारण आफू हङकङ नगएको उनले दोहर्याए ।
उनले श्रमभिषामा कहीँ कतै जान नपाउने भएका कारण हङकङ नगएको बताउँदै भने ‘ हङकङको पैसा नआएर केही हुँदैन अरू ठाउँबाट रकम सङ्कलन गरेरै भए पनि सपना साकार बनाउँछु ।’
प्रतिमा निर्माण निम्ति १२ करोड उठिसक्यो
साम्पाङले सुन्नीमा पारुहाङ प्रतिमा निर्माण अभियानले सबैलाई एक ठाउँमा ल्याउने बताउँदै प्रतिमा निर्माण गर्न ३० करोड लगानी हुने खुलासा गरे। त्यसमा राज्यको १ रुपैयाँ पनि नचलाउने उनको भनाइ छ। उनले प्रतिमा निर्माणका लागि १२ करोड रकम उठिसकेको बताए ।
हर्क साम्पाङले घमण्ड त्याग्नु पर्छ: तिलक राई किराँत राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तथा निवर्तमान धरान नगर प्रमुख तिलक राईले भने ‘हर्क साम्पाङ केही होईनन, उनी व्यक्ति मात्र हुन अहिले उनको पदमात्र ठुलो हो ।’
उनले साम्पाङलाई ‘म भन्दा बाहेक ठुलो केही छैन’ भन्ने भावना त्याग्नु पर्ने सल्लाह दिदैं भने ‘विश्वासको पात्र बन्न सक्नु पर्दछ, मर्यादा नाघ्नु हुँदैन, सबैलाई समान मान्नु पर्दछ ।’
उनले सबैको भावनाको कदर गर्दै सहकार्य भावनात्मक एकतालाई बचाई राख्नु सक्नु पर्ने, मपाईँत्वको भावनालाई त्याग्नु नै किराँतीको सन्तान हुनुको मुख्य जिम्मेवारी भएको बताए ।
उनले नगरप्रमुख साम्पाङलाई उत्तेजना र आवेशमा आएर भड्किलो अभिव्यक्ति दिनु नहुने सल्लाह दिए । समाज भड्काउने अभिव्यक्तिले फरक समुदाय फरक शक्तिलाई आकर्षण गर्न नसकिने उनको भनाई थियो ।
राईले भने ‘किरातीहरु महत्त्वपूर्ण जिम्मेवार समुदाय हो ।’ किराँतीहरू आज निर्णायक शक्तिमा रहेको बताउँदै निर्णायक शक्ति भैयो भन्दैमा किरातीका सन्तानले समाज भड्ने कुनै पनि काम गर्न नहुने उनको भनाई थियो ।
कार्यक्रममा किराँत राई यायोक्खाका उपाध्यक्ष दोर्पध्वोज राईले किराँतहरूको मुन्धुम र इतिहासका बारेमा प्रकाश पारे । सभापतित्व यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले गरेका थिए । साकेला शिली प्रदर्शनमा सुनसरी जिल्ला भरीका यायोख्खाका साकेला टोली सहभागी थिए ।कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका सभापति प्रशान राई डाक्टर राजकुमार राईलाई सम्मान समेत गरिएको थियो ।