धरान : धरान–८ मा नवनिर्मित स्मार्ट बसपार्क भनिएको धरान बस टर्मिनल निर्माण सम्पन्न भएको वर्ष दिन नाघि सके पनि सञ्चालन हुन सकेको छैन ।
तिनदशक अघि डिजाइन गरिएको बसपार्क धरान उपमहानगरपालिकाले लामो विवादका बिच ढिलै भए पनि निर्माण सम्पन्न गरेको छ । यसलाई सञ्चालनमा ल्याउन भने अझै केही पूर्वाधारहरू पुरा गर्न जरुरी भएको यातायात व्यवसायीहरू भनाई छ । 
बसपार्क सञ्चालन नभएको बारेमा चासो राखी धरान विचार मञ्चले सुरु गरेको सरोकारवालाहरुसंग छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले भने ‘यो बसपार्क डिजाइन गर्दाको अवस्था र अहिलेको स्थिति आएको फरकले केही पूर्वाधार पुरा गर्न जरुरी छ ।’
उनका अनुसार बसपार्कमा ठुला बसहरूको पार्किङ स्थल छैन । यात्रु चढाउन मात्र सवारी बसपार्कमा ल्याउन पाइने कार्यविधिमै छ । धरानमा हिजोहाज दुई तिहाइ बस बाहिरबाट आउने जाने गरेकाले उनीहरूका लागि पार्किङ स्थल आवश्यक छ ।
पछिल्लो समय लामा र छोटा दुरीमा साना गाडीहरूको सङ्ख्या अत्यधिक रूपमा बढेको छ । बस पार्कमा उनीहरूको व्यवस्थापन जरुरी छ । त्यहाँ खाली रहेको ५ कट्ठा जग्गामा त्यसलाई व्यवस्था गर्न सकिने उनले बताए । लामो दुरीका बसको पार्किङ स्थलका लागि रेडियो नेपालको जग्गा लिजमा लिइन सकिने श्रेष्ठको भनाई छ ।
बसपार्कमा आउने जाने यात्रुका लागि आवश्यक स्थानीय ट्याक्सी, टेम्पो, सफारी जस्ता सुविधाका साधनको बढ्न सक्ने अत्यधिक चापको व्यवस्थापन सञ्चालन अगावै स्पष्ट गरिनु जरुरी छ ।
धरान विचार मञ्चले स्थानीय विकाससँग सरोकार राख्ने योजना, समस्याको अध्ययन र सम्बद्ध पक्षसँग अन्तरक्रिया गरी स्थानीय सरकार एवं नीति निर्माण तहमा ध्यानाकर्षण गराउने कार्यक्रम अनुसार बसपार्कमा चासो राखेको हो । 
मञ्चका अध्यक्ष डा.आनन्द आचार्यले बसपार्क सञ्चालनमा किन ढिलाइ भएको हो र सञ्चालनमा ल्याउन सरोकारवालाहरूको समस्याका बारेमा स्थलगत अध्ययन गरिएको बताए । 
उनले भने ‘यसअघि हामीले तत्कालीन उपमेयर मञ्जु भण्डारीसँग पनि छलफल ग¥यो, अब पूर्व नगर प्रमुखव्दय मनोजकुमार मेन्याङवो र तिलक राईसँग पनि छलफल गर्छौँ र स्थानीय सरकार धरान उपमहानगरपालिका जान्छौँ ।’
नवनिर्मित धरान बस टर्मिनल भवन परिसरमा बिहीबार भएको यातायात व्यवसायीहरुसंगको छलफलमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशीका धरानमा उपलब्ध पदाधिकारी,स्वतन्त्र मजदुर सङ्गठनका पदाधिकारी समेत सहभागी थिए ।
बसपार्क सञ्चालनका लागि व्यवहारिक पक्षप्रति धरान उपमहानगरपालिकाले गम्भीरतापूर्वक ध्यान नदिएको व्यवासायीहरुको गुनासो छ । भानुचौक स्थित बसपार्कबाट एकैचौटी सबै रुटमा चल्ने बसहरूलाई बसपार्कमा स्थानान्तरण गर्न कठिन भएको उनीहरूको भनाई छ । बसपार्क सञ्चालन अघि धरानमा उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्न आवश्यक छ । नयाँ बसपार्कबाट सुरु भएर धरानको सबै क्षेत्रका नाका छुने स्टाण्डबाट पुनः बसपार्कमा आएर टुङ्गिने कम्तीमा पनि ४ वटा नगर बस जरुरी भएको यातायात व्यवसायीको भनाई छ ।  
श्रेष्ठले भने ‘तरहरा जानका लागि भानु चौकमा बस चढ्दै आएका यात्रीले नयाँ बसपार्क आउन सफारी टेम्पुमा तरहरा पुग्ने भन्दा चार डबल भाडा तिर्नु पर्ने अवस्था आउँछ ।’ यस्तो अवस्थाका कारण यातायात व्यवसायीहरू आफ्ना सवारी बसपार्क ल्याउने मनस्थितिमा छैनन् ।
महासङ्घका प्रदेश सचिव नेत्रबहादुर थापाका अनुसार एकै पटक पुरै बसपार्क सञ्चालनमा ल्याउने उद्देश्यले ढिलाइ भएको देखिएको छ । पहिला लामो दुरीका र रात्रीबसहरु नयाँ बसपार्कबाट सञ्चालन गर्न सुरु गरे बिस्तारै अन्य रुटका बसहरू चढ्न यात्रु बसपार्क आउन अभ्यस्त हुने उनको भनाई छ ।  
धरान उपमहानगरपालिकाले भने बसपार्क सञ्चालन ठेकेदार मार्फत गर्नका लागि टेन्डर आव्हान गरिसकेको छ । बसपार्क सञ्चालनमा देखिएको पूर्वाधार र व्यवहारिक समस्या सरोकारवालाहरुसंग छलफलबाट टुङ्गो नलाई ठेकेदार मार्फत सञ्चालन गर्ने हतार नगरपालिकाले गर्न नहुने व्यवसायीहरूको भनाई छ ।
संयोजक सरोज श्रेष्ठले भने ‘ठेकेदारलाई बसपार्क व्यवहारिक रूपमा सफल सञ्चालन गर्ने भन्दा आफूले कबोलेको रकम असुल्ने धुन हुन्छ ।’ यात्रुलाई आउने समस्या, यातायात व्यवसायीहरूको कठिनाइका बारेमा बारेमा ठेकेदार जिम्मेदार हुन्नन् । तसर्थ सुरुको वर्ष उपमहानगरपालिका आफैले अमानतमा बसपार्क सञ्चालन गर्नु पर्छ ।