धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुक्रवार बिहान धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता उद्घाटन गरेका छन् ।  
धरान–४ छोटी मोरङ स्थित प्याराग्लाइडिङ उडान स्थलमा आयोजित समारोहमा सहभागी भारतीय खेलाडी पाइलटहरूलाई स्वागत गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन । 
प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता छोटी मोरङबाट उडान भरेर धरान–१४ स्थित खत्री धारा आसपास अवतरण हुने व्यवस्था गरिएको छ ।
समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशमा साहसिक पर्यटनको ठुलो सम्भावना रहेको बताउँदै भने ‘प्याराग्लाइडिङ र माउन्टेनियरिङ जस्ता खेलले साहसिक खेल पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’  
मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने तथा नेपाल पर्यटन बोर्डको समेत सहभागिता रहने घोषणा गरे ।
उनले आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा प्याराग्लाइडिङलाई विशेष प्राथमिकता दिइने र अन्तर्राष्ट्रिय स्तरका खेल प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाए । 
धरान र आसपासका क्षेत्रलाई प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको मुख्यमन्त्री कार्कीको भनाई छ । उनले नयाँ आर्थिक वर्षदेखि पर्यटन वर्ष र भ्रमण वर्षलाई जोडेर प्याराग्लाइडिङ सहित १० भन्दा बढी विधाका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए । 
कार्यक्रममा सहभागी भारतीय खेलाडी पाइलटहरूलाई स्वागत गर्दै मुख्यमन्त्री कार्कीले नेपाल र भारत, विशेष गरी सिक्किम बिचको भाषिक तथा सांस्कृतिक निकटताले दुई देशबिचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे । 
धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले छोटी मोरङ क्षेत्रमा प्याराग्लाइडिङका लागि उपयुक्त उडान बिन्दु पहिचान गरिएको बताइन । प्राविधिक अध्ययनपछि तत्कालीन कार्यपालिकाले उक्त क्षेत्रलाई आधिकारिक उडान तथा अवतरण बिन्दुका रूपमा निर्धारण गरेको उनको भनाई थियो ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला,पुरुष,महिला तथा राष्ट्रिय पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १८औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरू पनि सहभागी छन् ।
pyaragliding
praglading-11