वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाबाट अब भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह हुने भएको छ । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा सञ्चालनका लागि आशय पत्र पेश गरेका २ सय १४ स्थानीय तहमध्ये पहिलो चरणमा छनोट भएका ३५ स्थानीय तहमा वराहक्षेत्र नगरपालिका पनि परेको हो ।
नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८३ वैशाख २३ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागसँग समन्वय गरी स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पहिलो चरणमा सेवा सञ्चालन गरिने स्थानीय तहमध्ये वराहक्षेत्र नगरपालिका पनि समावेश भएको हो ।
नगर प्रमुख रमेश कार्की ले स्थानीय सरकारबाट पटक-पटक उठाइएको माग तथा निरन्तर पहलका कारण उक्त सेवा सञ्चालन प्रक्रिया अघि बढेको बताए ।
नगरपालिकाले वराहक्षेत्रको भौगोलिक अवस्था र स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै भूमि प्रशासन सम्बन्धी कार्य स्थानीय तहबाटै सञ्चालन गर्नुपर्ने मागसहित सिफारिस पठाएको थियो ।
नगरपालिकाका सूचना अधिकारी गौरी राय का अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मन्त्री स्तरीय बैठकबाट नगरपालिका मार्फत उक्त सेवा सुरु गर्ने निर्णय भएको जानकारी प्राप्त भएको हो ।
भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालनका लागि नगरपालिकाले मन्त्रालयसँग निरन्तर पत्राचार गर्नुका साथै नगर प्रमुख कार्कीले मन्त्री तथा सचिवहरूसँग छलफल र अनुरोध गर्दै आएका थिए ।
अब वराहक्षेत्र नगरपालिकाबाटै भूमि प्रशासन सम्बन्धी सेवा सुरु भएपछि स्थानीयवासी तथा सेवाग्राहीहरूले सेवा लिनका लागि धरान र इनरुवा धाउनुपर्ने बाध्यता अन्त्य हुने छ ।