इटहरी : इटहरी उपमहानगरपालिका शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिको कारण बारम्बार विवादमा आइरहन्छ जनता माध्यमिक विद्यालय । नगर शिक्षा ऐनमा उल्लेख भए अनुसार समितिको पदावधि समाप्त हुनु भन्दा एक महिना अगावै अभिभावक भेला बोलाउनुपर्ने भएपनि जनता माविमा प्रक्रिया मिचेर अध्यक्ष चयन गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति गठनको लागि छनौट सहयोग समिति गठन गरेर प्रक्रिया अगाडी बढाउनुपर्ने भएपनि तोक आदेशको भरमा नयाँ समिति चयन भएको छ । नगर शिक्षा समितिले यसअघिका अध्यक्ष काशीनाथ दंगाललाई अध्यक्ष बनाउने निर्णय गरेपछि विवाद बाहिर आएको हो ।
दंगाल २०७५ असारमा पहिलो पटक अभिभावक भेलाबाट चयन भएका ४ सदस्य मध्येबाट सर्वसम्मत अध्यक्ष भएका थिए । २०७८ असारमा उनको कार्यकाल पुरा भएपनि तत्कालीन मेयर तथा शिक्षा समिति संयोजक द्वारिकलाल चौधरीले म्याद थप गरिदिए । म्याद थप गरेको अस्थायी समिति मार्फत झन्डै एकबर्ष कार्यकाल चलाए । २०७९ वैशाखमा ३ गते उनै दंगाल अध्यक्ष भएपनि चयन प्रक्रियाको बारेमा विवाद भयो । बारम्बार विवादमा आइरहेका दंगाल पुनः विवादकै बिच अध्यक्ष चयन भएका छन् ।
नेकपा एमाले भित्र कार्यपालिका सदस्य तथा शिक्षा समिति सदस्य प्रमोद शेर्पा मार्फत अध्यक्षको पहल अगाडी बढाएका थिए । जनता माविका शिक्षक तथा नेपाली काँग्रेसका नेता शिवराज दाहाल मार्फत मेयर हेमकर्ण पौडेल लगायत काँग्रेस वृत्तमा पहल गरेका हुन् । शुक्रवार उनको पहलकदमीको फलस्वरूप शिक्षा समितिले अन्तरिम अध्यक्ष चयन गरेको हो ।
दुई कार्यकाल लगातार अध्यक्ष भएका उनले पुनः अध्यक्ष नबन्ने घोषणा गरेका थिए । अभिभावक भेलामा बोल्न समय माग गर्दै अध्यक्ष दिएपनि नलिने दाबी गरे । तर एकबर्ष सम्म समिति गठन गर्न सहजीकरण नगरेको नगर शिक्षा समितिले उनै दंगाललाई अध्यक्ष बनाएको हो ।
दंगाल अस्थायी अध्यक्ष भएसँगै वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले आपत्ति जनाए । आर्थिक अनियमिततामा जोडिएको र अख्तियारमा समेत उजुरी परेको व्यक्ती पुन: अध्यक्ष चयन हुनु गलत भएको उनको तर्क छ । रास्वपा सांसद लालविक्रम थापा जोडिएको जग्गा भाडा विवादमा दंगाल मुछिएकाले नगर शिक्षा समितिको निर्णय प्रति उनले आक्रोश पोखेका छन् ।
त्यस लगत्तै विभिन्न सरोकारवाला निकाय तथा अभिभावकले दंगालको नियुक्तिको विरोध जनाएका छन् । काँग्रेस नेता दीपक ढकालले समेत मेयर पौडेलप्रति लक्षित गर्दै आफै उपमहानगरपालिका भएको प्रवृत्ति देखिन थालेको बताए । जनचाहाना विपरीत हुने निर्णयमा मौन बस्न नसकिने बताउँदै उनले नागरिकको आवाजलाई सम्मान गर्न आग्रह गरे ।
अभिभावकहरूले शनिवार विद्यालयमा भेला बोलाएर ५ सदस्यीय सङ्घर्ष समिति नै गठन गरेका छन् । देवराज अधिकारीको नेतृत्वमा गठित समितिले शनिवार नै पत्रकार सम्मेलन गरी निर्णय सच्याउन दबाब दिएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यकक्षमा तालाबन्दी गर्ने देखि शिक्षा मन्त्रालयसँग निर्देशनात्मक आदेश माग गर्ने सम्मका कार्यक्रम घोषणा गरिएको छ ।
निर्वाचन रोकेर घोषणा
पहिलो र दोस्रो भेलामा बहुमत नपुगेपछि तेस्रो भेलाको उपस्थितिलाई आधार मानेर समिति गठन गर्ने तयारीमा रहेको छनौट समिति समेत सफल भएन । गत पुस २६ गते ४ जना सदस्यको लागि ७० जनाको उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया नै स्थगित भयो । दंगालले अध्यक्ष नबन्ने घोषणा गरेपनि पुनः मनोनयन दर्ता गराएपछि धेरै अभिभावकले उनलाई रोक्न उम्मेदवारी दिएका थिए ।
सो विषयमा छनौट समितिले इटहरी उपमहानगरपालिकाको नगर शिक्षा समितिमा पठाएको थियो । मनोनयन पछि निर्वाचनको प्रक्रिया नै स्थगित गरेर शिक्षा समितिले अस्थायी समिति घोषणा गरेको छ । नगर शिक्षा ऐनको दफा ३४ (६) मा अस्थायी व्यवस्थापन समिति गठन गर्ने प्रावधान समेटिएको छ । अर्को व्यवस्थापन समिति गठन नभएसम्म अस्थायी समितिले नै काम गर्नेगरी ऐनमा समेटिएको हो । सोही अनुसार शिक्षा समितिले अस्थायी समिति गठन गरेको देखिन्छ ।
तथापि एउटै व्यक्ती बारम्बार अध्यक्ष भइरहने प्रवृत्तिले मिलेमतोमा भ्रष्टाचार मौलाउने अभिभावकहरू बताउँछन् । बारम्बार अध्यक्ष बन्न मरिहत्ते गर्नुको पछाडि जनता मावि केही शिक्षक र दंगालको सिन्डिकेटको कारण विवादित बन्दै गएको उनीहरूको भनाइ छ।










































































