धरान :जातीय तथा भाषिक समुदायको भाषा, साहित्यको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले धरान ९, रत्न इनमा बहुभाषिक कविता गोष्ठी भइरहेको छ ।
धरान उपमहानगरपालिकाअन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गोष्ठीमा कुल १९ जना कवि तथा कवयित्रीहरुले भाग लिएका छन् । प्रतियोगितात्मक गोष्ठीमा तामाङ, राई, नेवार, याम्फु, मेवाहाङ, याक्खा, सुनुवारलगायत विभिन्न जातजातिका कवि, कवियित्रीहरुले कविता वाचन गरिरहेका छन् ।
सहभागीहरुलाई खस नेपाली भाषा र आफ्नो माृतभाषामा कविता वाचन गर्न छुट दिइएको छ । कतिपय प्रतियोगिहरु मौलिक पहिरनमा कविता वाचन गर्न आएका छन् । गोष्ठीमा वरिष्ठ कवि एवं साहित्यकार वम देवान, वरिष्ठ पत्रकार एवं कवि हर्ष सुब्बा, साहित्यकार एवं पत्रकार प्रदिप मेन्याङबो निर्णायक रहेका छन् । गोष्ठीका संयोजकसमेत रहेका प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले वाचन गरिएका कविताहरुमध्ये उत्कृष्ट ५ छनौट गर्ने जानकारी दिए । ती उत्कृष्ट ५ लाई पुरस्कार स्वरुप ट्रफी र प्रमाणपत्र पनि दिइनेछ ।