धरान : जातीय तथा भाषिक समुदायको भाषा, साहित्यको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले आइतबार धरानमा आयोजित बहुभाषिक कविता गोष्ठीमा उत्कृष्ट ५ कविता पुरस्कृत भएको छ ।
धरान ९ स्थित होटल रत्न इनमा आयोजित प्रतियोगितात्मक गोष्ठीमा कुल १९ कविता मध्ये उत्कृष्ट ५ छनौट गरि पुरस्कृत गरिएको हो । गोष्ठीमा याक्खा भाषाको हेनसेन याक्खाको कविता बधाई छ किराती चेलीलाई, लिम्बु भाषाको धनेन्द्र जवेगुको कविता सपनीनमा ऐठन, शेर्षा भाषाको पुनम शेर्पाको कविता भड्किएको छोरीको मन, राई वान्तवा भाषाकको चोङहाङ राईको कविता हे मनुष्य असल पथ रोज र नेवारी भाषाको सुशा कदमको मातृभाषा शिर्षको कविता उत्कृष्ट ५ मा परेको थियो ।
गोष्ठीमा वरिष्ठ कवि एवं साहित्यकार वम देवान, वरिष्ठ पत्रकार एवं कवि हर्ष सुब्बा, साहित्यकार एवं पत्रकार प्रदिप मेन्याङबो निर्णायक रहेका थिए । हेनसन याक्खाको कविताले २२५, धनेन्द्रको कविताले २१३, पुनम शेर्पाको कविताले २०५, चोङवाङ राईको कविताले २०० र सुशा कदमको कविताले १८० अंक पाएका थिए । उत्कृष्ट ५ कवि तथा कवयित्रीहरुलाई प्रमाणपत्र र ट्रफीवापत जनही ५ हजार पुरस्कार दिइएको थियो । गोष्ठीमा विभिन्न ८ भाषाका कुल १९ कविता वाचन गरिएको थियो ।
गोष्ठी धरान उपमहानगरपालिकाअन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो । सहभागी कविहरुलाई खस नेपाली भाषा र आफ्नो माृतभाषामा कविता वाचन गर्न लगाइएको थियो । कतिपय प्रतियोगीहरु मौलिक पहिरनमा कविता वाचन गर्न आएका छन् । प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फेले आगामी बर्षहरुमा बहुभाषिक कविता गोष्ठीलाई अझ व्यापकरुपमा आयोजना गर्ने बताए । प्रतिष्ठानका सदस्य एवं रंगकर्मी गोपाल देवानले कुनै पनि जातिलाई जिउदो राखिरहन भाषा, साहित्य जोगाउन आवश्यक भएकोले बहुभाषिक कविता आयोजना गरिएको बताए ।








































































