धरान : प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको एकसाता बितिसकेको छ । छानबिन समितिमा प्रतिष्ठानकै रेक्टर डा. गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ पनि सदस्य छन् । दुवैलाई सिनेटरको हैसियतमा समितिमा राखिएको बताइएको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको थियो । उक्त समितिको प्रतिवेदनसमेत अध्ययन गर्ने गरी गठन भएको नयाँ समितिले के गर्दैछ ? अहिले प्रतिष्ठानसँग सरोकार राख्ने सबैलाई चासो र कौतुहलता छ । प्रतिष्ठानका कर्मचारीहरुका अनुसार छानबिन समितिका सदस्यद्धय श्रेष्ठ र खनालले उच्च पदमा रहेका कर्मचारीहरुलाई बोलाएर सोधपुछ गरिरहेको छ । ‘विभिन्न विभागीय प्रमुख, फ्याकल्टी, उच्च कर्मचारीहरुसँग सोधपुछको काम भइरहेको छ,’उनले भने । छानबिन समितिले भने आवश्यकता अनुसार विभिन्न विभागका प्रमुख, प्रशासनका कर्मचारीहरुसँग छलफल गरेर प्रतिष्ठानबारेको धारणा बुझ्ने काम भइरहेको बताए । छानबिन समितिका सदस्य एवं रेक्टर डा.खनालले प्रतिष्ठानलाई राम्रो बनाउन सबैसँग छलफल र अन्र्तक्रिया गरिरहेको बताए । ‘फ्याकल्टी, कर्मचारी सबैसँग छलफल भइरहेको छ, प्रतिष्ठानलाई राम्रो बनाउन जति धेरैसँग अन्र्तक्रिया गरियो, उति राम्रो हो,’उनले भने,‘कतिलाई हामीले बोलाएका छांै, कति आफै आएर पनि सुझाव दिनुहुन्छ ।’यो छानबिन समिति प्रतिष्ठानको ऐन २०४९ दफा ११(घ) वमोजिम पनि गठन गरिएको हो । तसर्थ, यो समितिको सिफारिश वा प्रतिवेदनको आधारमा सिनेट वैठकको सामान्य बहुमतबाट उपकुलपति पदमुक्त हुनसक्ने पनि अनुमान गरिएको छ । छानबिन समितिको ३ जनासँग वर्तमान उपकुलपति डा.राजकुमार रौनियारको सम्बन्ध चिसिएको छ । उपकुलपति रौनियार कांग्रेसी हुन् भने स्वास्थ्यमन्त्री यादव संघीय समाजवादी फोरमका नेता हुन् । रजिष्ट्रार श्रेष्ठ र रेक्टर खनाल नेकपाका हुन् । उपकुलपति रौनियार भएदेखि नै रजिष्ट्रारसँग सम्बन्ध बिग्रिएको थियो भने पछिल्लो समय रेक्टरसँग पनि रौनियारको सम्बन्ध सुमधुर हुन सकेको छैन । तसर्थ, वर्तमान उपकुलपति डा.रौनियारलाई कारबाही गर्ने उद्देश्यले समिति गठन भएको अनुमान पनि गरिएको छ ।