धरान: कर्मचारी बृत्ति विकास सम्बन्धी कार्यविधिको बिषयमा जनप्रतिनिधिसँग मतभेद चर्किएपछि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं नेपाल सरकारका सहसचिव सुमन घिमिरे सरुवा भएका छन् ।

सरकारबाट सहसचिवमा बढुवा भएर आएका घिमिरे धरानमा मुश्किलले ५ महिना मात्र टिके । उनी कार्तिक १२ गते धरानबाट विदाई भएर गएका छन् । उनी २०७५ जेठ १६ गते धरान हाजिर भएका थिए । उनी श्रम मन्त्रालयमा सरुवा भएका छन् । कर्मचारी समायोजन अघि साविक स्थानीय निकायका कर्मचारीलाई बढुवा गर्न नहुने उनको अडानले जनप्रतिनिधिसँग मतभेद बढेको थियो । जसको कारण उनले पछिल्लो २ वटा कार्यपालिका बैठकको निर्णयमा हस्ताक्षर पनि गरेका थिएनन् । सरुवा हुनुअघि पनि उनले ती निर्णयमा सही नगरेपछि नगर कार्यपालिकाको १९ औं र २० औं बैठकका निर्णयहरु प्रमाणिकरण हुन सकेन । प्रमुख प्रशासकीय अधिकृतले प्रमाणिकरण नगरेपछि कार्यपालिकाको निर्णय भएपनि कार्यान्वयन हुदैन ।

नगर कार्यपालिकाको १९ आंै बैठकमा संगठन संरचना तथा कर्मचारी दरबन्दीसम्बन्धी एजेण्डा प्रस्तुत भएको थियो । उक्त एजेण्डामा उपसचिवलाई ८ औं तहमा नै सिमित पार्ने थियो । जसमा प्रमुख प्रशासकीय अधिकृतको सहमति थिएन । निजामतिका उपसचिव ९ र १० औं तहका हुन्छन् । यस्तै, २० औं कार्यपालिका बैठकमा वृत्तिविकास सम्बन्धी एजेण्डाप्रति उनको असन्तुष्टी थियो । धरानका अधिकृतहरु ७ औं तहका मात्र छन् । संगठन संरचनामा ८ औं तह पद सृर्जना हुने भएपछि हतारमा साविक स्थानीय निकायका अधिकृतहरुको दबाबमा आफुहरु बढुवा भएर महाशाखा प्रमुख हुनको लागि वृत्तिविकासको एजेण्डा ल्याइएको थियो । कर्मचारी समायोजन प्रक्रियाको चरणमा रहेको भन्दै घिमिरेले त्यसमा पनि सहमति जनाएका थिएनन् । कार्यपालिका बैठकले निर्णय गरेपनि उनले सही नगरेपछि उक्त बैठकको निर्णय नै अलपत्र परेको थियो ।

IMG_20181029_134712 copy

कार्यपालिकाको २० औं बैठकमा एजेण्डाहरु पनि उनले प्रस्तुत गरेनन् । वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले नै प्रमुख प्रशासकीय अधिकृत भैm एजेण्डा प्रस्तुत गरेका थिए । कार्यपालिका बैठकमा कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतबाहेक अन्य कर्मचारी बस्न नपाउने भएपनि खतिवडा सबै बैठकमा बस्दै आएका छन् । यसप्रति पनि घिमिरेको असन्तुष्टी रहेको कर्मचारीहरु बताउँछन् । ‘स्थानीय सरकार हो भने कार्यपालिका बैठक मन्त्रीपरिषद बैठक सरह हो, त्यसमा मुख्यसचिव बाहेक अरु बस्न पाउदैन, तर यहाँ खगेन्द्र खतिवडा सधै बैठकमा बस्ने गरेका छन्,’एक कर्मचारीले भने । कार्यपालिकाको २० औं बैठकलगत्तै असन्तुष्ट घिमिरे काठमाण्डौं गएका थिए । त्यसबेला नै उनी अब नफर्कने अनुमान गरिएको थियो । तर, दशैंअघि उनी धरान आएका थिए । सरुवा स्वभाविक कि अस्वभाविक ? पत्रकारको प्रश्नमा उनको जवाफ थियो,‘मध्यमार्गी बाटो हो ।’

धरान उपमहागनरपालिकाका प्रवक्ता मणिराम राई प्रमुख प्रशासकीय अधिकृत घिमिरेको कर्मचारी वृत्तिविकास कार्यविधिबारे केही चित्त नबुझेको हुनसक्ने भन्दै यसैलाई सरुवाको कारण भने मान्दैनन् । यद्यपी उनले सरकारको सहसचिव भएकोले आफ्नो हैसियत राख्न चाहदा केही असझदारी भएको हुनसक्ने बताए । वरिष्ठ प्रशासकीय अधिकृत खतिवडा बैठकमा बसेको बिषयमा भने प्रवक्ता राईले माइन्युट लेख्नको लागि प्रमुख प्रशासकीय अधिकृतले नै राख्ने गरेको बताए ।