धरान: भोगाधिकार पाएको जग्गा लिजमा दिएर नक्सा पास र इजाजत विना निर्माण भइरहेको फनपार्क उपयुक्त ठाउँमा स्थानान्तरण गर्न माग गर्दै बिपी प्रतिष्ठान–डिपो बचाउ संघर्ष समितिले बिहिबार र्याली निकालेका छन् ।

फनपार्कसँगै डिपो र इजी राइडर गु्रप बिजनेश प्रालिबीचको सम्झौतामा भएको अन्य संरचनाहरु निर्माण हुदा अस्पताल क्षेत्र र डिपोकै शैक्षिक गतिविधि, वातावरणमा दीर्घकालिनरुपमा असर पर्ने भएकोले त्यहाँबाट अन्यत्र सार्नुपर्ने संघर्ष समितिले आग्रह गर्दै आएको छ । बिपी प्रतिष्ठानका शिक्षक(फ्याकल्टी), कर्मचारी, चिकित्सक एवं विद्यार्थीहरुको आधिकारिक संगठनहरु मिलेर बिपी तथा डिपो बचाउ संघर्ष समिति गठन गरेकय थिए । उक्त समितिले नै चरणबद्ध आन्दोलनको घोषणा गरेअनुरुपमा आज सांकेतिक र्याली निकालेका हुन् ।

aIMG_7209

सरकारले बिपीको नाममा भएको जग्गा भोगाधिकार मात्र रहने गरी डिपो स्कुललाई दिएको र त्यहाँ उसले आफुले मात्र शैक्षिक प्रयोजनको लागि उपभोग गर्न पाउने बिपी प्रतिष्ठान, उपमहानगरपालिका, जिल्ला प्रशासनलगायत निकायहरुले भन्दै आएको छ । यस्तै, ३० बर्षे लिजमा कम्पनीलाई दिएको सार्वजनिक जमिन भविष्यमा फिर्ता हुन नसक्ने भन्दै सर्वत्र आलोचना पनि भइरहेको छ । डिपो आफै विश्वविद्यालय बन्ने सपना देखिरहेकोले भविष्यमा आफैलाई चाहिने जमिन यसरी निजी कम्पनीलाई लामो समयको लागि लिजमा दिन नहुने संघर्षरत पक्षको भनाई छ । ‘डिपोटले छोटो समयको लागि हुने लाभ हेरेर लिजमा दिएको छ, तर भविष्यमा उसैलाई वेफाइदा हुनेछ,’संघर्ष समितिका संयोजक एवं डा.विष्णु पोख्रेलले भने,‘शिक्षामा नयाँ नीति र अभ्यासहरु आएको छ । विद्यार्थीहरुलाई प्राक्टिल खेती गराउन ठाउँ हुदैन, स्कुल बढ्दै गएपछि खेल मैदान हुदैन । खाली जग्गाहरु त अहिले जोगाउनुपर्छ । संरचना बनाइहाल्नुपर्छ भन्ने छैन ।’

संघर्ष समितिका सचिव सुजेन्द्र गोले तामाङले बिपीसँगको सम्झौता र नेपाल सरकारले अनुमति दिदा पनि शैक्षिक प्रयोजनबाहेक व्यापारिक प्रयोजनमा जग्गा उपयोग गर्न डिपोले नपाउने भएकोले आफुहरुले खबरदारी गर्नुपरेको बताए । ‘अहिले बिपीको व्यवस्थापन पक्ष विविध कारणले कमजोर छ, त्यसैले हामीले यो कदम चाल्न बाध्य हुनुपर्यो,’उनले भने,‘सम्बन्धित निकायहरुको ध्यानाकर्षण होस, निर्णय पुनविचार गरेर डिपोले सम्झौता रद्द गरोस् भन्ने चाहन्छौं ।’

aIMG_7190

र्यालीमा बिपीका वरिष्ठ शिक्षक चिकित्सक डाक्टरहरु, विद्यार्थी, नर्स र कर्मचारीहरु सहभागी थिए । जिओपिडीबाट शुरु भएको र्याली डेन्टल, शिवमार्ग, बुद्धचोक, रत्नचोक हुदै फनपार्क निर्माणस्थलमा पुगेको थियो । त्यहाँ केहीबेर फनपार्क सारौं, बिपी डिपोट बचाउ भन्ने नारा लगाएर र्याली पुनः जिओपिडीअघि पुगेर टुंगिएको थियो । संघर्ष समितिका अनुसार अब हस्ताक्षर संकलन गरेर सरोकारवाला निकाय, प्रधानमन्त्री कार्यालयमा बुझाउने, अख्तियारमा सामुहिक उजुरी गर्ने र नागरिक संवाद गर्ने कार्यक्रम तय भएको छ ।

aIMG_7192

aIMG_7193

aIMG_7194

aIMG_7210