धरानः उद्यमशील बचत तथा ऋण सहकारीले गत आर्थिक बर्ष २०७४/०७५ मा एक करोड बढी मुनाफा कमाउन सफल भएको छ ।

संस्थाले सोमबार सैनिक भवनमा आयोजित छैटौं साधारणसभामा १ करोड ९ लाख १७ हजार ४ सय ५५ रुपैया मुनाफा कमाउन सफल भएको जानकारी दिएको हो । २०६८ सालमा स्थापित सहकारीका अध्यक्ष डा.योगेन्द्र राईले ई सेवा सञ्चालन, सफ्टवेयर जडान, मोबाइल बैकिङ सेवा, इन्टरनेट बैङ्किङ, मोबाइल एसएमएस सेवा विस्तार गरिने जानकारी दिए । यसैगरी, कलेक्टर मोबाइल एप्स, सहकारी शिक्षा कार्यक्रम, महिनाको उत्कृष्ट सदस्य छनौट, सदस्य उत्प्रेरणा कार्यक्रम, वार्षिक सम्मान तथा पुरस्कार कार्यक्रमलाई अघि बढाइने पनि अध्यक्ष राईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकारले सहकारी विधेयक ल्याउने उल्लेख गदै सुझाव दिन आग्रह गरे । कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष नरेश इवारम, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठ, धरान नगर सहकारी विकास बोर्डका सदस्य दिनेश श्रेष्ठलगायत अतिथि थिए । कार्यक्रममा असल बचतकर्ता कमला गुरूङ, श्याम श्रेष्ठ, उच्च बचतकर्ता गीता जिमी, ज्योति शाहीलाईलाई पनि सम्मान गरिएको थियो ।

असल ऋणी देवीमाया मगर, रणबहादुर विक, असर फिल्ड कर्मचारीतर्फ बलबहादुर लिम्बू, ज्येष्ठ नागरिकतर्फ ध्वर्जमान राईलाई सम्मान गरिएको समारोहमा असहाय तथा अनाथ सहयोगार्थ सुरज लिम्बूलाई पनि संस्थाले सम्मान गरेको थियो । संस्थामा हाल ६ सय १६ जना शेयर सदस्य रहेको जानकारी दिइयो ।