धरानः प्रदेश नं १ की सांसद उमिता बराइलीले मंगलबार सुनसरी र उदयपुर जिल्लामा फैलिएको कोशीटप्पुको अवलोकन गर्दै अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन सकिने धारणा व्यक्त गरिन् । केही तस्बिरहरुसहित सामाजिक सञ्जाल फेसबुकमा उनले लेखिन्,‘सुनसरी र उदयपुर जिल्लामा अवस्थित करिब ७५ सय विघा जग्गा प्रयोगविहिन छ ।’

प्रदेश सांसद बराइली एयरपोर्टको लागि औपचारिकरुपमा वा प्रदेश सरकारबाट सम्भाव्यता अध्ययनको लागि अवालोकन गर्न गएकी भने थिइनन् । प्रदेश वा संघीय सरकारले कोशीटप्पुमा एयरपोर्ट बनाउनेबारेमा औपचारिक निर्णय वा पहल गरिसकेको पनि छैन । तर, अनौपचारिकरुपमा भने बहस, छलफल नभएको होइन । सांसद बराइलीका अनुसार प्रदेश नं १ मा एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट आवश्यक छ । हालको विराटनगर एयरपोर्ट साघुरो भएको र विस्तार गर्नलाई जग्गा खरीद गर्न पनि ज्यादै महंगो भएकोले विकल्पको खोजीबारे अनौपचारिक छलफल भने भइनै रहेको छ । ‘प्रदेश १ मा अन्तर्राष्ट्रिय एयरपोर्ट चाहिन्छ, तर विराटनगरको ठाउँ सानो भयो, त्यसैले विकल्प खोज्नुपर्छ की भन्ने अनौपचारिक छलफल र सुझावहरु आइरहेको छ,’कपुरीन्यूजसँग उनले भनिन्,‘कोशी टप्पुमा बनाउने हो भने अन्तर्राष्ट्रियस्तरकै एयरपोर्ट बन्छ, ठाउँ पनि प्रशस्तै छ ।’

सांसद वराइलीका अनुसार बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाले प्रदेश सरकार, संघीय सरकारलाई एयरपोर्टको लागि पटक पटक आग्रह गरिसकेको छ । मरुभुमीजस्तो ७५ सय विघा जग्गा खेर गइरहेकोले पनि एयरपोर्ट बने सदुपयोग हुने उनले बताइन् । रुखविरुवा केही पनि नभएकोले वन्यजन्तुहरु पनि नआउने र एयरपोर्ट बनाउदा नयाँ सहर पनि विकास हुने उनको धारणा छ । ‘मरुभुमीजस्तो ठाउँ रहेछ, वन्यजन्तु पनि नआउने ठाउँ रहेछ, त्यहाँ एयरपोर्ट बन्यो भने नयाँ सहर पनि विकास हुन्छ,’उनले भनिन् ।

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले पनि यो बिषयमा प्रदेशका मुख्यमन्त्री, पर्यटनमन्त्री र संघीय सरकारका पर्यटनमन्त्रीसँग आफुहरुले धेरै पटक कुरा गरेको बताए । अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन उपयुक्त ठाउँ भएको र जग्गा आफुहरुले उपलब्ध गराउने पनि उनले बताए । ‘अरुतिर जग्गा नपाएर समस्या छ, यहाँ जग्गा उपलब्ध गराउने जिम्मा हाम्रो भयो,’मेयर खनालले भने,‘अरुतिर जमिन किन्ने पैसाले त यहाँ एयरपोर्ट नै बनिसक्छ ।’