धरान : सातौं नेवा च्यारिटी धरान १० के रन-२०७५ फागुन तेस्रो साता धरानमा हुने भएको छ ।

धरान रन समुहको आयोजनामा ‘स्वच्छ धरान–स्वास्थ्य धरान’ भन्ने नाराका साथ फागुन २५ गते शनिबार धरानमा हुने भएको हो । ८ किलोमिटर दौडिदै आएका धावक धाविकाहरुले यस पटकदेखि २ किलोमिटर बढी दौडिनु पर्ने छ । रन पुरा गर्न १० किलोमिटर दौडिनुपर्छ । ‘अन्तर्राष्ट्रिय मान्यता दौड अनुसार यसपटकदेखि १० कि.मी बनाएका छौं, नेपालका धावकहरुले पनि अन्तर्राष्ट्रियमा प्लेटफर्म पाओस् भन्ने हेतुले बनाएका हौं ।’ धरान रनका प्रवक्ता गोपाल राईले भने ‘हामी धरानमा मात्र सिमित नराखी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य हो ।’

शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै समुहले १२ वर्षभन्दा मुनिका वालवालिकाको लागि ३ कि.मी च्यारिटी रन गराइने अध्यक्ष रमु राईले बताए । उनका अनुसार १२ देखि १६ वर्षसम्मका, १७ देखि ३९ वर्षसम्मका र ४० वर्षदेखि माथीका भेट्रान पुरुष र महिलाले सहभागीता जनाउन पाउने छन् । देशभरका करिब ३ हजार धावक धाविकाहरुले यसपटक सहभागीता जनाउने अपेक्षा गरिएको समुहका अध्यक्ष रोमु राईले बताए । जसको लागि फर्म आजबाट खुल्ला गरिएको जनाइएको छ । दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने जनाइएको छ । खुल्ला दौडमा प्रथम हुनेले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी, दोस्रो र तेस्रो हुनेले क्रमश ः नगद ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी १२ वर्षभन्दा मुनिका, १२ देखि १६ वर्षसम्मका, र ४० वर्षमाथीका भेट्रान विजेताले नगद ७ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ पाउने छन् । धरानका स्थानीय धावक धाविकालाई प्रोत्साहन गर्दै पहिलो र दोस्रो हुने महिला र पुरषलाई समेत पुरस्कृत गरिने अध्यक्ष राईले बताए । त्यस्तै, धावक धाविकाहरुमध्ये रन पुरा गर्दै पहिला आइपुग्ने ५ सय जनालाई मेडल प्रदान गरिने भएको उनले बताए ।

दौड प्रतियोगिताको रुट : 

रन लोकतान्त्रिक चौतारी भानुचोकबाट विहान ७ ः०० बजेदेखि शुरु गरी पुतली लाइन, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी ट्याङकी, गणेशमान चोक, रंगशाला हुँदै जिरो पोइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तिसार, विजयपुर चोकहुँदै, पिण्डेश्वर मन्दिर, चिनियाँ चोक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचोकमा आएर समापन हुनेछ ।

विद्यार्थीलाई न्यानो स्वेटर र स्टेशनरी समाग्री प्रदान

‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई जाडोको न्यानो कपडा तथा स्टेशनरीका सामग्री प्रदान गरिएको छ ।

dharan-run-2

पाँचौ नेवा च्यारिटी रनबाट स्थापना गरिएको फण्डले स्वीटर, मोजा, कापी, कलम प्रदान गरेको हो । उक्त साम्रगीहरु संस्थाका पदाधिकारीहरुले विद्यार्थीहरुलाई हस्तानतरण गरेका थिए । फण्डमा हाल ६ लाख रहेकोले त्यसैको ब्याजबाट वर्षमा तीन पटक विद्यार्थीहरुको पढाई खर्चदेखि पोशाक, किताब कापी, कलमलगायतका आवश्यक सामानहरु प्रदान गदै आएको फण्डका अध्यक्ष गोपाल राईले बताए । फण्डलाई १० लाख रुपैयाँसम्म पुर्याएर ३० जनासम्म जेहेन्दार तथा विपन्न वालवालिकाहरुको पढाइमा खर्च गर्ने भावी योजना रहेको समुहका अध्यक्ष रमु राईले बताए । ‘फण्डलाई १० लाख पु¥याउने लक्ष्य लिएका छौं, १७ जना विद्यार्थीबाट ३० पुर्याउछौं ।’ राईले भने ‘त्यसैले सबैसंग सहयोगको लागि हात बढाइरहेका छौं ।’ कपडा तथा स्टेशसनरीका सामग्री पाएपछि विद्यार्थी तथा उनीहरुका अभिभावक पनि खुशि देखिन्थे ।

धरान–१७ बिचघोपाकी रिबेका बेगटीकी आमा बिमलाले आफुले पढ्न नपाएपनि छोरीलाई धेरै पढाउने इच्छा रहेको सुनाइन् । सानैमा आफ्नो बाबु गुमाएकी रिबेका धरान रनको एजुकेशन फण्डमार्फत पढिरहेकी छन् । बिमलाले आर्थिक अवस्थाका कारण आफुले पढ्न नपाएकोमा भाबुक हुँदै भनिन् ‘छोरीलाई धेरै पढाउन चाहन्छु, तर, आर्थिक अवस्था छैन्, उहाँहरुले छोरीलाई पढाइदिनु हुँदैछ धेरै खुशी छु ।’