धरान: हिजो मंगलबार ख्रिष्टियन धर्मावलम्बीहरुले मान्ने क्रिसमस डे थियो । यद्यपी, नेपाल सरकारले सार्वजनिक विदा दिएको थिएन ।
सम्पुर्ण निजी तथा सरकारी कार्यालय मात्र होइन, शैक्षिक संस्था कलेज एवं विद्यालयहरु पनि सञ्चालन भएको थियो ।

सरकारले नै विदा कटौती गरेको दिन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने अचम्मै भयो । नेपाल सरकारले नै कटौती गरेको विदाको दिन बिपी प्रतिष्ठानको ओपिडी सेवा भने बन्द भयो । ओपिडीमा जचाउन आएका विरामीहरु बन्द देखेपछि आक्रोशित भए । उनीहरुले स्वास्थ्य उपचार सेवा किन बन्द गरेको भन्दै कराउन थाले ।

bp

डाक्टरले नै फलोअप जाँचमा बोलाएपछि पहाड(धनकुटा)बाट आएका ३ जना ज्येष्ठ नागरिकहरुसँग रिसाएका थिए । उनीहरुले ओपिडी सेवा बन्दको आक्रोश सेक्युरिटी गार्डहरुसँग पोखे । गार्डहरुले सम्झाउन खोजेका थिए, तर जाँच गराउन आएका विरामीहरु गार्डमाथि नै खनिएका थिए । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । विरामीलाई उपचार प्रभावित हुने गरी कर्मचारीहरु विदामा विदा मनाउने भन्दै ज्येष्ठ नागरिकहरु निक्कै आक्रोशित बनेका थिए ।

केटिएम सेक्युरिटीका इञ्चार्ज पवन खड्काका अनुसार प्रतिष्ठानले क्रिसमसको विदा दिएको सुचना ओपिडी विल काउण्टर प्रवेश गर्ने भवनको ढोकामा टासेको थियो । केही मानिसहरु बिपीमा विदा भएको थाह नपाएर ओपिडी कार्ड काट्न आएका थिए । त्यसैक्रममा डाक्टरले नै फलोअपमा बोलाएका ३ जना वृद्धाहरु पहाडबाट आएका थिए ।' पहाडबाट जचाउन आउदा ओपडी बन्द भएको थाह पाएर उहाँहरु रिसाउनु भयो, हाम्रो साथीहरुले क्रिसमसको बन्द छ भन्दा झन् रिसाउनु भयो,' खड्काले भने, 'गार्डहरुसँग सामान्य विवाद गर्नुभएको हो ।'

प्रतिष्ठानका सहायक प्रवक्ता डा.अशोक ऐरले भने प्रतिष्ठानमा बर्षको १९ दिन विदा हुने क्यालेण्डर छ । त्यसैमा हिजो मंगलबार क्रिसमसको पनि विदा परेको हो । अब आइतबार पनि ल्होसारको विदामा प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने उनले बताए । 'हाम्रो बार्षिक क्यालेण्डरमा नै १९ दिन विदा छ, त्यसमा हिजोको क्रिसमस विदा पनि परेको हो': उनले भने ।