धरान: २०५५ सालदेखि निरन्तर आयोजना हुदै आएको बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले प्रतियोगितामा नाफा नकमाएको भन्दै सधै गाली र आलोचना खेप्नु परिरहन्छ । हुन पनि २१ औं सँस्करण आयोजनाको तयारीमा जुटेको क्लबले कति पटक नाफा गर्यो भन्दा पनि सधै घाटा भयो भनेर गुनासो गर्ने गरेका छन् ।

तर, गत बर्ष सम्पन्न भएको २० औं सँस्करणमा भने नाफा कमाएर क्लबले केही हदसम्म आफ्नो आलोचकहरुको मुख थुन्न सफल भएको छ । शुक्रबार २१ औं सँस्करण आयोजाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबले गत बर्ष सम्पन्न प्रतियोगिताको आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरेको थियो । जसमा पौने ६ लाख बढी क्बललाई आम्दानी भएको जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले गत बर्ष प्रतियोगितामा ६ लाख ८७ हजार ७ सय रुपैया नाफा भएको जानकारी गराए । उनका अनुसार गेट टिकटबाट १५ लाख संकलन भएको थियो भने प्रायोजक, सहप्रायोजक, विभिन्न सरकारी निकाय, कार्यालय र संघसंस्थाहरुबाटसमेत गरेर कुल ६२ लाख ७ हजार ५ सय रुपैया आम्दानी भएको थियो ।

यसैगरी, टिम व्यावस्थापन खर्च, नगद पुरस्कार, अफिसियल, अतिथि सत्कारलगायत विभिन्न शिर्षकमा ५५ लाख १९ हजार ८ सय रुपैया खर्च भएको कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । ‘गत बर्षको प्रतियोगिताबाट हामीले नाफा गर्न सक्यौ, यसपाली पनि यसरी नै नाफा हुन्छ भन्ने आशा छ,’उनले भने ।

२० औं प्रतियोगिता, नाफा भने ५ पटक मात्र

बुढासुब्बा गोल्डकप अहिलेसम्म २० औं पटक(सँस्करण) आयोजना भइसकेको छ । ती प्रतियोगिताहरुको आम्दानी र खर्च हेर्ने हो भने ५ पटक मात्र क्लबले नाफा कमाउन सकेको छ ।

क्लबका महासचिव प्रताप तामाङका अनुसार अहिलेसम्म सबैभन्दा बढी नाफा १४ औं सँस्करणमा भएको थियो । त्यसपछि, गत बर्षको २० औं सँस्करणमा नै बढी नाफा भएको उनले सुनाए । महासचिव तामाङले दिएको जानकारी अनुसार बुढासुब्बा गोल्डकप ७ औ, ९ औं, १४ औं, १५ औं र २० औं सँस्करणमा मात्र नाफा भएको थियो ।

माघ अन्तिमदेखि बुढासुब्बा गोल्डकप

IMG_20181228_124013 copy

बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं सँस्करण आगामी माघ २६ गतेदेखि फागुन ४ गतेसम्म हुने भएको छ । आयोजक क्लबका अनुसार प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा हुनेछ ।

प्रतियोगितामा आमन्त्रण गरिएका २ विदेशीसहित कुल ८ वटा टिम सहभागी हुने निश्चित रहेको क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । यसपाली थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, सहारा क्लब पोखरा र आयोजक धरान फुटबल क्लबको टिम हुनेछ । यस्तै, पाहुना टोलीकोरुपमा तेस्रो सँस्करण विजेता वंगलादेशको धनमुन्दी क्लब र भारत आसामको ओइल इण्डिया एफ.सि.,दुलियाजान सहभागी हुने अध्यक्ष राईले बताए ।

आयोजकको टिम स्थानीय खेलाडीहरु मात्र राखेर तयार गरिने पनि क्लबले जनाएको छ । फाइनल पुगेर उपाधि उचाल्ने लक्ष्यका साथ ४ जनालाई प्रशिक्षणको जिम्मेवारी दिइएको पनि आयोजक क्लबका अध्यक्ष राईले बताए । प्रतियोगितालाई सफल बनाउन पुर्वउपमेयर मिनकुमार सुब्बा संयोजक रहेको मुल आर्थिक समिति, प्रचारप्रसार उपसमिति, मैदान मर्मत उपसमिति, आयोजक टिम तयारी उपसमिति पनि गठन भइसकेको क्लबले जनाएको छ ।

प्रतियोगिताको विजेताले कम्तीमा ८ देखि १० लाख रुपैया र उपविजेताले ४ देखि ५ लाख रुपैया पाउने क्लबका अध्यक्ष राईले बताए । गत २० औं सँस्करणमा विजेताललाई ६ लाख र उपविजेतालाई ३ लाख नगद पुरस्कार थियो । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर, प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन् । साथै, सर्वाधिक गोलकर्ता खेलाडीले नगद ३१ हजार पुरस्कार पाउने महासचिव तामाङले बताए ।