धरान: पदाधिकारीहरुबीचमा बेमेलको कारण अस्पतालको सेवा प्रभावित बनेको भन्दै मंगलबार बिहान नेकपाका जिल्ला र धरानस्थित नेता, कार्यकर्ताहरुको जम्बो टोली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेलिगेशन गयो ।

प्रतिष्ठानका चारैजना पदाधिकारीहरुलाई राखेर मिल्न नसक्नुको कारण, अस्पताल सेवा प्रभावकारी बनाउने बिषयमा जानकारी लिएर सुधार गर्न दबाब दिने उद्देश्यले नेकपाको टोली डेलिगेशनमा गएको थियो । शुरुमा साविक माओवादी केन्द्रका नेता सिपि दत्तले भुमिका बाधेर साविक एमाले नेता मुरारी सुवेदीलाई कुरा राख्न समय दिएका थिए । नेता मुरारीले पदाधिकारी मिलेर काम गर्न नसक्दा प्रतिष्ठान धरासायी बन्दै गएको र प्रतिष्ठानको सेवा सुविधा पनि खस्कदै गएको भन्दै नेतृत्वको हिसाबले उपकुलपति डा.रौनियारले जिम्मेवारी लिनुपर्ने बताए । सेवाग्राहीहरु सबै प्रतिष्ठानको सेवाप्रति असन्तुष्ट रहेको उनको भनाई थियो ।

IMG_20190108_113138 copy

उनीपछि साविक माओवादी केन्द्रका चोत्लुङ, साविक एमालेका कार्यवाहक अध्यक्ष नारायण सुवेदी, साविक एमाले नेतृ वेणु काफ्ले, युवा संघका नेता हिमाल लिम्बूलगायतले आफ्नो कुरा राखेका थिए । सबैको भनाई एउटै थियो,‘उपकुलपतिले सबैलाई मिलाएर लैजान सकिरहेको छैन, नेतृत्वमा कमीकमजोरी छ । अस्पताल सेवा प्रभावकारी भएन, दिनप्रतिदिन धरासायी हुदै गएको छ ।’ उनीहरुले अस्पताल निर्देशकले विभिन्न विभाग विस्तार गर्दा पत्र पठाएर रेक्टरको अधिकार कटौती गरेकोमा पनि आपत्ति प्रकट गरेका थिए ।

प्रतिष्ठानको तर्फबाट उपकुलति डा.राजकुमार रौनियार, रेक्टर डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहले पनि जवाफ फर्काएका थिए । यसरी जवाफ फर्काउदा उपकुलपति डा.रौनियार र निर्देशक डा.साह एककित्तामा थिए भने रेक्टर डा.खनाल अर्को कित्तामा भएको प्रष्टै देखिएको थियो । त्यसक्रममा नेकपा नेताहरु र उपकुलपतिबीच केहीबेर चर्काचर्की पनि परेको थियो ।

IMG_20190108_113107 copy

उपकुलपति र अस्पताल निर्देशकले अस्पताल सेवाहरु सुधार गर्न आफुहरुले निरन्तर पहल गरिरहेको बताएका थिए । सेवाहरु थप गरेको र अति बिशिष्ट सेवाको विभागहरु पनि विस्तार गरेको भन्दै उपकुलपतिले नकरात्मक सोच मात्र नराख्न आग्रह गरेका थिए । ‘पच्चिस बर्षदेखिको समस्याहरु छन्, विरासतकोरुपमा मैले ती समस्याहरु पाएको छुँ, सबै म भिसि भएपछि मात्र भएको होइन नि,’उनले भने,‘म भन्दा अघिसम्म सबै ठिक, अहिले म आएपछि सबै बेठिक भन्ने सोच नपालौ । म विस्तारै सुधार गर्ने प्रयत्न गरिरहेको छुँ ।’

रेक्टर खनालले भने प्रतिष्ठान डुबीसकेको दाबी गर्दै भिसि र रजिष्ट्रारबीच कहिल्यै छलफल हुन नसकेको बताए । ‘हेर्दा हेर्दै प्रतिष्ठान डुबीसकेको छ । राम्रो पनि छ, नराम्रो पनि छ,’उनले भने,‘मैले पटक पटक उहाँहरुलाई राखेर कुरा गरे, मिल्दै मिल्नु भएन ।’ उपकुलपति रौनियार र रेक्टर खनालको अभिव्यक्तिले पनि पदाधिकारीहरुबीच मिलाप नरहेको प्रष्ट देखिन्थ्यो । नेकपाका नेताहरु नै रेक्टर खनाल र रजिष्ट्रर तुलबहादुर श्रेष्ठको बचाउ गर्न गएको शैलीमा अभिव्यक्ति दिइरहेका थिए । डा. खनाल र रजिष्ट्रार श्रेष्ठ नेकपा निकट हुन् । उपकुलपति रौनियार कांग्रेस निकट मानिन्छन् । छानबिन समितिको सदस्य रहेका रजिष्ट्रार र रेक्टर दुवै उपकुलपति रौनियारलाई हटाउन चाहिरहेका छन् ।