धरान:भारतको सिक्किम राज्यस्थित गान्तोक नगरसँग भगिनि सम्बन्ध गाँस्ने र बसपार्क अध्ययन गर्ने भन्दै बुधबार कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा धरानबाट एक टोली सिक्किम प्रस्थान गरेको छ ।

उक्त टोलीमा जनप्रतिनिधि, कलाकार, कर्मचारी र बस व्यवसायीहरु पनि छन् । बसपार्क पनि अध्ययन गर्ने भनिएको यो टिममा प्राविधिक भने छैनन् । यो भ्रमण जनताले तिरेको करबाट उपमहानगरपालिकाले खर्च व्यहोर्ने गरी भएको हो । भ्रमण टोलीमा कतिपय श्रीमान् र श्रीमतिसहित पनि हिडेका छन् । पर्यटन र बसपार्क अध्ययनको नाममा उपमहानगरले जनताले तिरेको करको दुरुपयोग भएको भन्दै कार्यपालिका सदस्यहरुले नै यो भ्रमणप्रति गम्भीर आपत्ति पनि जनाएका छन् । गत बर्ष पनि भगिनी सम्बन्ध गाँस्न भन्दै जम्बो टोली इलाम भ्रमणमा गएको थियो ।

सिक्किममा रेड पाण्डा फेस्टिवल हुदैछ । यो टोली त्यही फेस्टिवलमा सहभागी हुनेछ । त्यहाँ गान्तोक र धरानबीच भगिनी सम्बन्ध पनि गाँस्ने कार्यक्रम रहेको बताइन्छ । धरानबाटै यातायातको व्यवस्था गरिएको छ भने फेस्टिवलमा सहभागी पाहुना भएकोले आयोजकले नै खाने र बस्ने व्यवस्थापन गर्ने हुन्छ । तरपनि धरानबाट जाने टोलीलाई प्रतिव्यक्ति प्रतिदिन २ हजार रुपैया भ्रमण खर्च उपमहानगरपालिकाले उपलब्ध गराउनेछ । यसमा ३ लाख खर्च हुन्छ । भ्रमण टोली ३० जनाको भएको उपमहानगरले बताउदै आएको छ । भ्रमण कुल ५ दिनको हुनेछ ।

वडा नं १२ कय अध्यक्ष टंक राईले भने निर्णय गरेभन्दा बढी अनावश्यक व्यक्तिहरु लिएर गएको भन्दै आपत्ति जनाए । उनका अनुसार कार्यवाहक प्रमुख भण्डारीको नेतृत्वमा वडा नं २०, वडा नं २ कय अध्यक्ष र एक जना कार्यपालिका महिला सदस्य मात्र जाने निर्णय भएको थियो । तर, बुधबार मनपरीढंगले कार्मचारीहरुलाई पनि लगिएको भन्दै उनले असन्तुष्टी जनाए । ‘मनपरी भइरहेको छ,’उनले भने,‘कर्मचारी लैजाने भन्ने थिएन, वडा २० र २ कये अध्यक्ष, अनि एक जना महिला कार्यपालिका सदस्य लैजाने कुरा थियो । तर, कसरी यत्रो संख्या भयो ? कर्मचारी कसरी जाने भए ?’

को को छन् टिममा ?

भ्रमण टिममा को को छन् भन्ने प्रष्ट छैन । तर, यो टोलीमा भएको एक जना प्राविधिक सौहार्द श्रेष्ठ पनि गएनन् । प्राविधिक बिना नै बसापार्क अध्ययन गरेर टोली आउनेछ । टोलीमा १२ जना कलाकार छन् । कार्यवाहक प्रमुख भण्डारी, वडा २० का अध्यक्ष, वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडा, अर्का अधिकृत भक्तिराज शर्मा पनि छन् । अरु अधिकांश बस व्यवसायीहरु छन् । बसपार्क हेर्न भनेर लगिएका उनीहरु कतिपय पत्नीसहित गएका छन् । ‘३ वटा कार्यक्रमको लागि गएको हो, तर को को छन् भन्ने मलाई पनि थाह छैन,’निमित्त प्रशासकीय अधिकृत विनोद पोख्रेलले भने,‘भगिनी सम्बन्ध गाँस्ने, रेड पाण्डा फेस्टिवलमा सहभागी हुने र बसपार्क अध्ययन गर्ने काम हुन्छ ।’
भ्रमण टोलीलाई प्रतिदिन २ हजारको दरले खर्च दिने निर्णय भएको उनले बताए । टोलीलाई ५ दिनको लागि यो खर्च दिइनेछ । सिक्किम जानुअघि कार्यवाहक प्रमुख भण्डारीले पर्यटन विकास र कम क्षेत्रफलमा पनि बसपार्क कसरी व्यवस्थापन गर्ने भनेर सरोकारवालाहरुलाई देखाउन लगिएको दाबी गरिन् । ‘धेरै नेगेटिभ कुराहरु आइरहेको छ, तर म एकैपटक तपाईहरुलाई ब्रकिङ न्यूज दिन्छु,’उनले छोटकरीमा प्रतिक्रिया दिदै भनिन्,‘२७ गते बसपार्क सिलान्यास हुन्छ, थोरै जग्गामा कसरी बसपार्क बन्छ भन्ने पनि छ, त्यहाँ लगेर देखाउने हो । समस्या समाधानको पहल गरेको हो ।’