धरान: २१ औं बुढासुब्बा रेडबुल गोल्डकपमा आज नेपाल पुलिस क्लब र डाउफिन्स, क्यामरुनबीच दोस्रो सेमीफाइनल खेल हुदैछ । आजको खेलको विजेताले भोली शनिबार प्रतियोगिताको फाइनलमा धरानसँग उपाधिको लागि भिड्नेछ । आजको विजेता को होला ? धरानसँग फाइनलमा कस्को भेट होला ? पुलिस र क्यामरुनी टिमबीच आजको खेल निक्कै रोचक र प्रतिस्पर्धात्मक हुनेछ ।

शारीरिकरुपमा अग्ला र वलिया छन्, क्यामरुनी खेलाडीहरु । उनीहरु प्राविधिक खेल खेल्छन् । नेपालमा यो सिजनदेखिमात्र विभिन्न गोल्डकपहरुमा भाग लिन थालेपनि डाउफिन्सले मनकामना केवलकार पोखरा कप जितिसकेको छ । धरानमा पनि पहिलो खेलमा एपिएफ क्लबलाई हराउदै डाउफिन्स सेमीफाइनलमा स्थान बनाएको थियो ।

Ruslan Ad

क्यामरुनी खेलाडीहरुले टिम बनाएर यसपाली प्रतियोगिताहरुमा सहभागी भएपनि विगतका बर्षहरुमा अफ्रिकन खेलाडीहरुको टिम अफ्रिकन युनाइटेड धरानमा भाग्यमानी टोली बनेको थियो । अफ्रिकन युनाइटेडले ३ पटक फाइनल खेलेर २ पटक उपाधि जितिसकेको छ । अफ्रिकन युनाइटेडले आठौ सँस्करण(२०६२) र १६ औं सँस्करण(२०७०) मा उपाधि जितेको थियो भने नवौं सँस्करण(२०६३) मा उपविजेता बनेको थियो ।

युवा खेलाडीहरुप्रेरित पुलिसले जारी सिजनमा सबैभन्दा धेरै धनराशीको खप्तड गोल्डकप जितिसकेको छ । युवा खेलाडीहरुलाई शारीरिकरुपमा वलिया क्यामरुनी खेलाडीहरुको सामना गर्नु निक्कै चुनौती हुनेछ । पहिलो खेलमा पुलिसले सहारा क्लब पोखरालाई सडन डेथमा हराएर सेमीफाइनल पुगेको थियो । पुलिस धरानमा सफल टोली हो । उसले हालसम्म २० औं सँस्करण आयोजना भइसक्दा ९ पटक फाइनल खेलको छ । त्यसमध्ये ४ पटक उपाधि जितेको छ भने ५ पटक उपविजेतामा सिमित बनेको छ । पुलिसले दोस्रो, चौथो, पाँचौ र १० औं सँस्करणमा उपाधि जितेको छ भने तेस्रो, छैटौ, १२ औं, १८ औं र २० औं सँस्करणमा उपविजेता टोली हो ।