धरान: आज २१ औं बुढासुब्बा रेडबुल गोल्डपको फाइनल खेलसँगै प्रतियोगिताको समापन हुदैछ ।

धरान १६ स्थित रंगशालामा २ बजे हुने भनिएको समापन तथा फाइनल समारोहमा प्रदेश न १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिकोरुपमा धरान आउने छन् । गृह जिल्ला भोजपुर रहेका मुख्यमन्त्री राई हेलिकप्टरबाट धरान आउने कार्यक्रम छ । उनी चढेको हेलिकप्टर धरान १३, फुस्रेस्थित सैनिक महाविद्यालयमा अवतरण हुनेछ । त्यहाँबाट उनलाई गाडीमार्फत रंगशाला पुर्याइनेछ । जहाँ आयोजकले मुख्यमन्त्रीको भव्य स्वागत गर्नेछ । ‘मुख्यमन्त्री ज्यु हेलिकप्टरबाटै आउने कुरा छ, हामी उहाँलाई स्वागत गर्न तयार अवस्थामा छौ, २ बजे नै समापन समारोह भव्य हुन्छ,’आयोजक धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले भने ।

भोजपुरमा मुख्यमन्त्री राईसँगै प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्बो पनि छन् । काम बिशेषले उनी भोपपुर नबसे अर्थमन्त्री आङ्बो पनि बुढासुब्बा गोल्डकपको समापन समारोहमा आउनेछन् । मुख्यमन्त्री राई बुढासुब्बा गोल्डकप पछि साँझ दिप श्रेष्ठ स्वर्णिम साँझमा पनि सहभागी हुनुपर्ने भएकोले आज अबेरसम्म धरानमै रहनेछन् । त्यसैले बुढासुब्बा गोल्डकपको फाइनल पुरा हेर्ने समय मुख्यमन्त्री राईले पाउनेछन् । ‘साँझमा दिप श्रेष्ठ स्वर्णिम साँझको कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुनेछ, समय के कस्तो रहन्छ, गोल्डकपको फाइनल पनि हेर्नुहुनेछ,’मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने । माघ २६ गतेदेखि शुरु भएको बुढासुब्बा गोल्डकपको २१ औं सँस्करण आज समापन हुदैछ । प्रतियोगिताको फाइनलमा आज आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाउफिन्स एफसिबीच उपाधि भिडन्त हुदैछ ।