धरान:किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन सर्वसम्मत नयाँ नेतृत्व चयन तथा १६ बुँदे धरान घोषणा पत्र जारी गर्दै सकिएको छ ।

शनिबारदेखि शुरु भएको ३ दिने महाधिवेशनले बुधबार बिहान दिवस राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । नवनिवर्चित कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गर्दै कार्यसमिति चयन तथा १६ बुँदे धरान घोषणा पत्रबारे औपचारिकरुपमा जानकारी गराएको छ । बन्दसत्रमा प्रदेश नं १ को नाम किरात राख्ने बिषयमा महत्वपुर्ण छलफल तथा बहस भएको थियो । घोषणा पत्रको पहिलो बुँदाकोरुपमा यायोक्खाले प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्न माग गरेको छ ।

किरात प्रदेश नामांकन हुन नसके पहिचानवादीहरुसँग सहकार्य गर्दै संघर्षका कार्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलन गर्ने पनि यायोक्खाले जनाएको छ । ‘नामको बिषयमा हामीले लामो आन्दोलन गरेका छौ, यो मुद्दा पहिचानसँग केन्द्रीत छ । यो राई जातिसँग मात्र जोडिएको बिषय होइन, किरात भनेको भुगोल, ऐतिहासिकता, सभ्यता, सँस्कृति हो र यो नेपालकै प्रतिष्ठानसँग पनि जोडिएको बिषय हो,’नवनिवार्चित अध्यक्ष दिवस राईले भने,‘हाम्रो घोषणापत्रको पहिलो र प्रमुख बुँदा नै प्रदेश नं १ को नाम किरात हुनुपर्छ भनेर जोडदार माग गरिएको छ ।’

1

यस्तै, किरात राई समुदायले किरात लिपी प्रयोगको लागि कार्यदल बनाएर चाडै कार्यान्वयन गर्ने पनि घोषणा पत्रमा उल्लेख छ । अहिले बिषेश गरी लिम्बू समुदायले सिरिजंगा लिपी चलाउदै आएको छ । यो लिपि समग्र किरातीहरुको हो कि लिम्बूको मात्र हो भन्ने बहस पनि छ । ‘यो बहसकै क्रममा भएकोले सबै किरातीहरुको साझा लिपि बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो, अर्को लिपी विकास गर्ने भन्दा पनि सम्भव भएसम्म सिरिजंगा लिपिलाई नै साझा किरात लिपी बनाउन प्राज्ञिक, बौद्धिक बसह गछौ,’अध्यक्ष राईले भने ।

महाधिवेशनले विश्वरभर छरिएर रहेका विभिन्न भाषिक, थरगत किरात राईहरुलाई संगठित हुन आह्वान गरेको छ । साथै, राष्ट्रिय जनगणना २०७८ लक्षित गरेर किरात राई समुदायको एकतालाई मजबुद बनाउन भाषिक, थरको पछाडि राई र धर्मको महलमा किरात मातृभाषाको महलमा आआफ्नो मातृभाषा लेख्ने, लेखाउने अभियान सञ्चालन गर्ने पनि घोषणा गरेको छ । यसैगरि, राई समुदायको धार्मिक, साँस्कृतिक कार्य गर्ने नक्छो, नाक्सो, दोवा, कुवी र तोकायाहरुको वृत्ति विकासको लागि अक्षयकोष स्थापना पनि गर्ने घोषणा गरिएको छ । ‘हामीले धर्मको महलमा किरात लेख्नुको अर्थ राष्ट्रिय जनगणनामा हुने धर्मको महलको लागि हो, खासमा हामी प्रकृति पुजकै हौ । तर, धर्मको महलमा किरात पनि नलेखिए अन्य भनेर लेखिन्छ,’ अध्यक्ष राईले भने,‘हामीले भनेको किरात प्रदेश धार्मिक होइन, त्यो प्रागऐतिहासिक भुगोल हो, सभ्यता हो, सँस्कृति हो । धार्मिक प्रदेश होइन ।’

2