धरान:यही चैत २३ गतेदेखि शुरु हुन लागेको दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेलाको तयारीमा १ नं प्रदेश सरकार नै जुटेको छ ।

प्राचीन हरिद्धारले प्रसिद्ध सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चतराधाममा चैत २३ गतेदेखि बैशाख २४ गतेसम्म अर्धकुम्भ मेलाको तयारी भइरहेको छ । एक महिनासम्म लाग्ने यो कुम्भ मेलाको तयारीमा प्रदेश नं १ सरकार नै जुटेको हो । धार्मिकरुपमा मात्र नभै पर्यटनकोरुपमा पनि महत्व बोकेको भन्दै प्रदेश सरकारले नै यो अर्धकुम्भ मेलाको आयोजनामा सम्पुर्णरुपमा सघाउने भएको हो । यसको लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई संयोजनको जिम्मेवारी तोकेको छ । सरकारले अर्धकुम्भ मेलाको संयोजनको जिम्मेवारी दिएपछि आज शुक्रबार मन्त्री कार्कीले चतरामा विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न जिल्लका प्रजिअ, जिल्ला प्रहरी प्रमुख, प्रहरीका डिआइजी, सशस्त्र प्रहरीका डिआईजीलगायतसँग वृहत छलफल गरेका थिए ।

अर्धकुम्भ आयोजनाको लागि नेपालका प्रथम जगतगुरु भनिएका बालसन्तको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ भने १५ सदस्यीय स्टेरिङ कमिटि गठन गरिएको छ । प्रदेश सरकारकातर्फबाट संयोजक तोकिएको मन्त्री कार्कीले कुम्भमेला आउन मात्र एक साता बाँकी भएको र यो समय तयारीको लागि पर्याप्त भएको बताए । उनले प्रदेश सरकारले कुम्भको लागि ५० लाख दिने निर्णय गरेको पनि जानकारी दिए । अपुग भए थप बजेट जुटाउन पहल हुने पनि उनले बताए । ‘हाम्रो ठाउँ चिनाउने, धार्मिक साँस्कृतिक महत्व बुझाउने र पर्यटन विकास गर्ने महत्वपुर्ण अर्धकुम्भ मेला हुदैछ, त्यसैले तपाईहरु बजेटको कुनै चिन्ता नगर्नुस्, आजैदेखि सबै तयारीमा जुट्नुस्,’मन्त्री कार्कीले भने,‘एक साता मात्र बाँकी छ, तर यो हाम्रो लागि पर्याप्त छ । स्रोत जुट्दैन कि भन्ने चिन्ता छोडेर व्यवस्थापन र तयारीमा लाग्नुपर्छ ।’

IMG_3189

मन्त्री कार्कीले विद्युत आपूर्ति, औषधीको व्यवस्था, सडकको मर्मत, प्रचारप्रसार, अस्थायी शौचालय, इन्टरनेट तथा मोवाइल टावर, यातायात व्यवस्थापन, जेनेरेटर, सुरक्षालगायत आवश्यक सबै बिषयमा सम्बन्धित विभाग तथा निकायहरुमा निर्देशन दिइसकेको र काम तत्काल शुरु हुने पनि बताएका थिए । कुम्भका आउने तीर्थालुहरुलाई उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान, विराटनगरको नोबेल र विराट नर्सिङ कलेजमा निःशुल्क उपचारको लागि व्यवस्थापन गरिने पनि मन्त्री कार्कीले बताए । ‘प्रदेश १ का १३७ वटै तहमा प्रचारप्रसारको लागि निर्देशन दिने काम भइसकेको छ, अन्य प्रदेशमा पनि समन्वय भइरहेको छ,’मन्त्री कार्कीले भने,‘प्रदेश सरकारले स्वामित्व लिन तयार छ । सबै लाग्दा कुम्भ मेला सफल हुन्छ ।’

अर्धकुम्भ मेलाका सहसंयोजक एवं बराहक्षेत्र नगरका मेयर निलम खनालले कुम्भको आयोजनाको लागि २ करोड ३१ लाख खर्च लाग्ने अनुमानित बजेट प्रस्तुत गरेका थिए । यसको लागि संघ सरकार, प्रदेश, स्थानीय तहका साथै विभिन्न संघसंस्था, दाताहरुबाट सहयोग जुटाउन अतिआवश्यक भएको उनले बताएका थिए । कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्यसचिव एवं हाल सुचना आयोगका आयुक्त कृष्णहरि बास्कोटाले दोस्रो पिण्डेश्वर पुर्णकुम्भ मेलाको अनुभव सुनाएका थिए ।

kumva-mela

 

 

प्रदेश सरकारको कार्यालय स्थापना हुने

अर्धकुम्भ मेलाको तयारी एवं आयोजनाको लागि प्रदेश सरकारकये कार्यालय कुम्भमेला आयोजनास्थल चतराधाममा राखिने भएको छ । प्रदेश सरकारले नै कुम्भमेला आयोजनाको लागि सम्पुर्ण व्यवस्थापन तथा आवश्यक बजेट विनियोजन गर्ने भएपछि कार्यालय नै राखेर तयारीमा जुट्ने प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेले बताए । शुक्रबार आयोजित छलफलमा उनले उक्त कार्यालयमा विभिन्न मन्त्रालयको उपस्थिति रहने र आफ्नो मातहतको निकायलाई परिचालन गर्ने जानकारी दिए ।

स्थानीय तहले सहयोग गर्ने

अर्धकुम्भ मेलालाई प्रदेश १ का सबै स्थानीय तहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं १ का अध्यक्ष ताराबहादुर काफ्लेले सबै गाउँपालिकाहरुमा प्रचार गर्ने बताए । अर्धकुम्भ मेला आयोजकबाट प्रचार सामग्री उपलब्ध गराउन पनि उनले आग्रह गरेका थिए । यस्तै, इटहरी उपमहानगरपालिकका प्रमुख द्धारिकलाल चौधरी, जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले पनि सबै जिसस तथा स्थानीय तहहरुमा अर्धकुम्भ मेलाको प्रचारप्रसारमा पहल तथा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

IMG_3198

उदयपुरका प्रदेश सांसद विमल कार्कीले चतरालाई प्राचीन हरिद्धारकोरुपमा स्थापित गर्न साथै पाँचौ कुम्भ मेला नेपालमा हुन्छ भन्ने विश्वमा फैलाउन पनि सबै नेपाली जुट्न आह्वान गरे । उनले कोशी किनारको पश्चिमी तटतर्फ रहेको बेलका नगरको पनि ऐतिहासिकता, पुरात्तात्विक महत्वको उजागर हुन बाँकी रहेको बताए ।

सुरक्षा व्यवस्था कडा

प्रहरीले अर्ध कुम्भ मेला अवधिभर चतराधामको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिने भएको छ । यसको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षा चुनौती विश्लेषण गरेर १५ प्रकृत्तिको सुरक्षा रणनीति तथा योजना बनाएको छ ।
एसपी राजन अधिकारीका अनुसार चतराधाममा अर्धकुम्भ मेला अवधिभर एसपीको कमाण्डमा आवश्यक सुरक्षाकर्मी परिचालन हुनेछ । प्रहरीसँगै सशस्त्र प्रहरी, अनुसन्धानबाट पनि खटिनेछन् । साधा पोशाकमा पनि सुरक्षाकर्मीहरु परिचालित हुनेछन् भने मोवाइल टोली, सिआरभी पनि परिचालित हुने एसपी अधिकारीले बताए ।

kumva-bal-santa