सुनसरी :  सर्वसाधारण नागरिकहरुलाई अनेक प्रलोभन देखाएर नेटवर्किङ बिजनेशमा फसाउने र ठगी गर्ने गिरोह पुर्वमा सक्रिय रहेको पाइएको छ ।

नेटवर्किङ बिजनेशलाई अवैध तथा ठगी कार्य भएपनि सर्वसाधारणहरुलाई प्रलोभनमा पारेर गुपचुपमा यो धन्दा जारी छ । पछिल्लो समय यस्तै नेटवकिङ बिजनेशको धन्दाबाट ठगिएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा सामुहिक उजुरी परेको छ । पीडित १५ जनाले आफुहरु ठगिएको उजुरी दिएपछि प्रहरीले नेटवर्किङ बिजनेशबाट ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईका अनुसार पक्राउ परेकाहरुले नेटवर्किङ बिजनेशमार्फत ओरियन्स कम्पनीका उत्पादनहरु सोझासाझा नागरिकहरुलाई बिक्री गराउने गर्थे । उनीहरुलाई २ बढी थान कम्पनीको उत्पादनसहित पक्राउ गरिएको चौलागाईले जानकारी दिए । 'हामीलाई ठगी भएको भन्दै १५ जनाले सामुहिक जाहेरी आएपछि ओरियन्स कम्पनीको सामानहरुसहित ६ जनालाई पक्राउ गरेका छौ,'प्रहरी निरीक्षक चौलागाईले भने,'उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्र्तगत ठगी मुद्दा दर्ता भएको छ ।'

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्दीपकुमार भुजेल, प्रकाश राउत, महेश शर्मा, लक्ष्मीपुनः मगर, मनिषा सुवेदी र अर्जुन चौधरी रहेका छन् । उनीहरु सर्लाही, सुर्खेतलगायत जिल्लाका छन् । उनीहरुले इटहरी ५ स्थित एक घरलाई कार्यालय बनाएर नेटवर्किङको व्यापार चलाएका थिए । ओरियन्सको सदस्य बनाउदै कम्पनीको उत्पादन बेचाउथे । '५,७ हजारदेखि १५, २० हजारसम्म पनि असुलेका रहेछन्, खासगरि पहाडी क्षेत्रका सोझासिधा मानिसलाई कमाई धेरै हुन्छ, यो बिजनेशमा लागौ भन्दै फकाउने गरेको रहेछ,'प्रहरी निरीक्षक चौलागाईले भने,'पछि आफुहरु ठगीएको थाह पाएपछि उजुरी गर्न आएका रहेछन् ।'

धेरै पैसा कमाई हुने प्रलोभनमा पहाडी तथा गाउँघरबाट धेरै ठगिएको हुनसक्ने भएकोले नेटवकिङ बिजनेशबाट जोगिन प्रहरीले सर्वसाधारणहरुलाई आग्रह गरेको छ । गाउँघरबाट भेला पारेर होस्टलमा राख्ने र काउन्सेलिङ गर्ने गरेको पाइएको प्र्रहरीकोभ भनाई छ । अनेक प्रलोभन देखाएर भारतको पानीटंकी, सिलगढीसम्म पनि पुर्याउने र पैसा जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक चौलागाईले बताए । 'यस्ता नेटवकिङ बिजनेशको नाममा हुने ठगीविरुद्ध हामीले अप्रेशन थालेका छौ, जनता पनि सजग रहनुपर्छ,'उनले भने,'पक्राउ परेका ६ जनालाई ७ दिनको म्याद थप गरेका छौं ।'

ठगीका गिरोहले ओरियन्स कम्पनीको सामानहरु अनुमति विना ल्याएर सञ्जाल(नेटवर्क) बनाएर बिक्री गर्ने गर्छन् । सदस्य बन्नेले सामान पनि किन्नुपर्छ, र आफुले पनि पुनः अरु सदस्य बनाएर सामान बिक्री गराउनुपर्छ । समान बिक्री र सदस्यता संख्याको आधारमा उनीहरुको स्तर बढ्ने भएकोले नेटवकिङ बिजनेशमा लाग्नेहरुले सदस्य संखया बढाउन अनेक प्रलोभन देखाउने गरेका छन् ।