बराहक्षेत्र: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरसँगै रामधुनी, बराहक्षेत्र र चतराधामलाई एकीकृत गरेर धार्मिक सर्किटको रुपमा विकास गर्ने बताएका छन् ।

प्राचिन हरिद्वारले परिचित चतराधाममा शनिबारदेखि शुरु एक महिने दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यो क्षेत्रको धार्मिक पर्यटनको विकास गर्न गुरुयोजना तयार पारिरहेको पनि बताए । ‘बुढासुब्बा, पिण्डेश्वर, रामधुनी, बराहक्षेत्रधाम र चतराधामलाई समेटेर एउटा विशेष सार्किट निर्माण गछौं,’मुख्यमन्त्री राईले भने,‘यी धार्मिक स्थलहरुलाई अलग्गै एउटा विकासको परियोजना तयार पारिरहेका छौं ।’

प्रदेश १ कै महत्वपूर्ण धार्मिकस्थलको रुपमा बराहक्षेत्र रहेकोले यसैमा केन्द्रीत रहेर सरकारले मुख्य धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उनले बताए । यहाँका देबस्थलहरुको महाभारतमा समेत महिमा गाइएको चर्चा गदै मुख्यमन्त्री राईले यसलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर राज्यले आर्थिक समृद्धि हासिल गर्ने बताए । ‘पुराण, बराहपुराण, स्कन्द पुराण, महाभारतमा समेत उल्लेख गरिएको तथा महिमा गाइएको नेपालकै पूरानो एक देवस्थल हो,’ मुख्यमन्त्रीले राईले भने,‘बराहक्षेत्र प्रदेश १ को सबै भन्दा महत्वपूर्ण स्थल हो । धार्मिक पर्यटनको दृष्टिले यसको ख्याती संसारभर फैलिएकोले सरकारले यसलाई केन्द्रीत भएर धामिर्क पर्यटनको रुपमा विकास गर्ने योजना छ ।’

चतरालाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न बालसन्त मोहनशरण देवाचार्य र कृष्णदासको महत्वपूर्ण योगदानको चर्चा गदै यसको क्षेत्रको थप विकासको लागि प्रदेश सरकार हातेमालो गरेर हिड्न तयार रहेको बताए । कुम्भ मेलाले चतराको गरिमा बढाउनुका साथै धार्मिक पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्नेमा पनि मुख्यमन्त्री राईले विश्वास व्यक्त गरे ।

जलपर्यटनको पनि विकास गरिने

मुख्यमन्त्री राईले बराक्षेत्रबाटै बग्ने कोसी नदीमा जलपर्यटनको पनि विकास गर्ने बताए । जलपर्यटनको सम्भावना रहेकोले यसको सभ्याव्यता अध्ययन गरिरहेको उनले बताए ।

चतरादेखि दोलालघाट र अरुण तमोरमा पनि जलयात्राको विकासको सम्भावना रहेको मुख्यमन्त्री राईको भनाई थियो । ‘बराहक्षेत्रकै छेउबाट बग्ने कोसी नदीमा जलपर्यटनको एकदमै सम्भावना छ,’उनले भने,‘बराहक्षेत्रबाट दोलालघाटसम्मको सम्भाव्यता अध्ययनको तयारी गरिरहेका छौं । त्यसपछि अरुण र तमोर नदीमा पनि यसको अध्ययन गछौ ।’ बराहक्षेत्र आसपासका झरना, वन जंगललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री राईको भनाई थियो । यस ठाउँलाई प्रदेश र स्थानीय सरकारले मात्र नभएर संघीय सरकारले पनि विकास गर्न विशेष चासो दिइरहेको बताए ।

IMG_3714

सोही समारोहलाई सम्बोधन गर्दै प्रदेश सभामुख प्रदीकुमार भण्डारीले धर्म,सँस्कृतिले समाज र राष्ट्रलाई जोड्ने धारणा व्यक्त गरे । ‘धर्म,सँस्कृतिले समाजलाई बाँधेर राखेको छ, राष्ट्रलाई नै एकताको सुत्रका बाँध्छ,’सभामुख भण्डारीले भने । सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राईले आफ्नो निर्वाचन क्षेत्रमा भएका धार्मिक सम्पदासहितलाई सम्भावनाहरुलाई धार्मिक पर्यटनकोरुपमा विकास गर्न आफु लागिरहेको बताए । उनले आर्थिक समृद्धिको आधार पर्यटन हुने भएकोले सुनसरीमा भएको धार्मिक पर्यटनको सम्भाव्यतालाई थप उजागर गरेर विकास गरिनुपर्ने बताए ।