इटहरी : नेटवर्किङ कारोबार गरी सर्बसाधारणको करोडौँ रुपैया ठग्दै आएको ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामको कम्पनीका नाईके राम मगर पक्राउ परेका छन् ।

भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले नेपालमा अवैधानिक रुपमा नेटवर्क संञ्चालन गर्दै आएको छ । स्वास्थ्य सम्बन्धी उत्पादन भएका सामानलाई महंगो शुल्कमा बिक्री गरी बिरामी निको हुने भन्दै अग्रिम लाखौँ रुपैँया ठगी गरी फरार भएकाहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले नाईके मगरलाई पनि पक्राउ गरेको हो । सर्वसाधरणको लाखौ ठगी गरी फरार रहेका सुमन थापा, रोशन भट्टराई, अर्जुन गौतम, प्रेम खतिवडा, ताराबहादुर श्रेष्ठ र राजकुमार लिम्बुको नाममा उजुरी परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईँले जानकारी दिए । उनीहरु फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत्र १० गते ओरियन्सकै माध्यमबाट सर्बसाधारण मानिसबाट लाखौँ ठगी गर्ने रोहित कोईराला पक्राउ परिसकेका छन् । उनी गत साउना ६ गते पनि पक्राउ परेका थिए । बीचमा धरौटीमा रिहा भएका कोईरालाविरुद्ध पुनः ठगीको उजुरी परेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक चौलागाईँले बताए । त्यस्तै, अर्का ठगी सुमन थापा गत मङ्सिर ५ गते पक्राउ परेका थिए । उनीपनि धरौटीमा रिहा भएका थिए । तर, पुनः उनीबिरुद्ध उजुरी परेपछि अहिले थापा फरार रहेकाले खोजी कार्य भईरहेको चौलागाईँले जानकारी दिए ।