धनकुटा : शहीद भीमनारायण श्रेष्ठ अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज सोमबारको खेल सुनसरीको धरान फुटबल क्लब र दाफिन्स फुटबल क्लब क्यामरुनबीच हुँदैछ ।

धनकुटाको तल्लो टुँडिखेलमा अपराह्न ३ बजे खेल सञ्चालन हुने आयोजकले जनाएको छ । धरान फुटबल क्लब ए डिभिजन लिगमा खेल्ने खेलाडीले भरिएको टिम हो भने दाफिन्स फुटबल क्लब पछिल्लो समय नेपालका मोफसलमा सञ्चालित प्रायः प्रतियोगितामा उपाधि कब्जा गर्दै आएको टिम हो । शनिबारदेखि जारी प्रतियोगितामा आठ टिम सहभागी छन् ।


प्रतियोगिताको विजेता टिमले चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) खेलाडीबाट पुरस्कृत हुनेछन् भने उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।