धरान: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी ओलीले ५ बर्षसम्म नै सरकारको नेतृत्व गर्नसक्ने बताएका छन् ।

गणतन्त्र दिवसको दिन उनले दिएको अन्र्तवार्ताले सरकारको नेतृत्व परिवर्तन हुने हल्लाले राजनैतिक तरंग आइरहेको बेला प्रचण्डको यस्तो धारणा आएको हो । उनले अन्र्तवार्तामा ओलीसँग आलोपालो सरकार चलाउने सहमतिको प्रसंग झिकेका थिए । यो प्रसंगसहितको दाहालको अन्र्तवार्ताले ओली सरकार अब मात्र १५ महिना बाँकी रहेको भन्दै चर्चा भएको थियो भने असन्तुष्ट प्रधानमन्त्री ओलीले दिल्लीबाट फर्कने क्रममा सरकारको आयु २,४ दिन मात्र भएको बताएका थिए । तर, प्रचण्डले भने शनिबार धरानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे अन्र्तवार्तालाई अतिरञ्जित बनाइएको बताए ।

अध्यक्ष दाहालले अन्र्तवार्तामा आफ्नो भनाईलाई पुरा नराखेर अतिरञ्जित बनाएको दाबी गरे । ‘मैले पार्टी एकता गर्दा हामीले गरेको सहमतिको सन्दर्भको कुरा गरेको थिएँ, र सँगै एउटा समझदारी बनाएर केपी जी ५ बर्षसम्म नै जानसक्नुहुन्छ पनि भनेको थिएँ । यो पक्ष चै हाइलाइट भएन र सहमतिको आलोपालो भन्ने मात्र मिडियामा आयो,’अध्यक्ष दाहालले भने,‘यो कुरा त पहिला नै मिडियामा आइसकेको हो । किताब पनि छापिसक्यो, नयाँ कुरा होइन । मैले पहिलो पटक बोलेको कुरा पनि होइन ।’

nekapa

अध्यक्ष दाहालले पार्टी कार्यकर्ताहरुलाई मिडियामा आएको समाचारबाट धारणा नबनाउन आग्रह गरे । पार्टीको विचार, नीतिलाई बुझेर मात्र आफ्नो धारणा बनाउन आग्रह गर्दै उनले अहिले सरकार परिवर्तन हुने वा गर्ने कुरा एजेण्डा नै नभएको बताए । ‘अहिले सुशासन, विकास र समृद्धि राष्ट्रिय आवश्यकता हो, सबैले त्यतातिर नै ध्यान दिनुपर्छ,’दाहालले भने,‘मैले जोड दिएर भन्ने कुरा के हो भने सुशासन, विकास नै हो । भ्रष्टचारमुक्त प्रशासन दिने कुरामा केन्द्रीत हुनुपर्ने हुन्छ । जनताको गुनासो सकरात्मकरुपमा सुनेर सम्बोधन गर्नुपर्ने हुन्छ ।’