धरान: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किरात संकीर्ण जातिवाद नभै सभ्यता, मनोविज्ञान र गौरवशाली इतिहास भएको उल्लेख गर्दै किरात इतिहास र सभ्यताको अपमान हुने गरी कुनै सहमति नगर्ने बताएका छन् ।

धरान १७ स्थित साकेला पार्कमा साकेला उभौली समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश १ को नाम किरात राख्न छलफल भइरहेको पनि बताए । प्रदेश १ को सभामा ह्विप नगर्ने भनेर प्रधानमन्त्री केपी ओलीसँग समझदारी भएको खुलाउदै दाहालले किरातको इतिहास र सभ्यतालाई अपमान हुने गरी कुनै सहमति नहुने पनि प्रष्ट पारे । ‘मलाई विश्वास छ, अहिले मुख्यमन्त्री जीले पनि यहाँको जनताको भावना झन् राम्रोसँग बुझ्नु भएको छ । किरातको इतिहास र सभ्यतालाई सम्मान गर्ने गरी सहमति हुनुपर्छ,’उनले भने,‘किरातलाई अपमान गर्ने, किराती जनतालाई विभेद गर्ने सहमतिलाई सहमति भनिदैन । सहमति यो सभ्यतालाई स्थापित गर्ने कुरा मात्र सहमति हुनसक्छ ।’

सबै जातजातिको पहिचान र अधिकार स्थापित गर्न आन्दोलन र लडाई गरेको स्मरण गराउदै दाहालले आफ्नो मनमस्तिष्कमा यो कुरा रहीरहे पनि १ नं प्रदेशको नाम आफुले चाहेर मात्र नहुने पनि प्रष्ट पारे । दाहालले भने,‘तर यो बिषय मेरो मात्र नहोस्, यो बिषय कमरेड केपी ओलीको पनि होस्, कमरेड शेरधन राईको पनि होस्, यो प्रदेशसभामा सबै सदस्यहरुको पनि होस्, तपाई हामी सबैको होस् ।’

IMG_8057

नेपाल राष्ट्र निर्माणमा पनि किरातीहरुको ऐतिहासिक र युगन्तकारी भुमिका रहेको पनि बताए । नेपाल निर्माणमा किरातीहरुको युगन्तकारी भुमिका कसैले मेटाउन चाहेर पनि मेट्न नसक्ने उल्लेख गर्दै उनले किराती सभ्यता र इतिहासलाई सर्वसम्मतीबाट नै स्थापित गर्न चाहिरहेको पनि खुलाए । ‘किराती इतिहास र सभ्यतालाई स्थापित गर्ने बिषय पनि पार्टीको सर्वसम्मत निर्णय होस् भन्ने हाम्रो चाहना छ,’दाहालले भने,‘प्रदेशसभामा पनि बहुमत र अल्पमतले भन्दा पनि प्रदेश सभाका सदस्यहरुबाट सर्वसम्मतिले होस् ।’

जातीय पहिचानको सबैभन्दा उग्रविरोधी शासकहरुले पनि किरातलाई इन्कार गर्न नसकेको बताउदै दाहालले भने,‘उनीहरुले अरु सबैलाई पन्छाए तर किरातलाई पन्छाउन सकेनन् । त्यसैले उनीहरुले वल्लो किरात, पल्लो किरात, माझ किरात भन्नै पर्यो । अब हामी कम्युनिष्टहरु जो उत्पीडित जातिलाई सम्मान दिने, पहिचान दिने वाला छौं, के हामी पृथ्वीनारायण शाह भन्दा पनि पछि हटेर किरात नै हटाउन सक्छौं त ? कदापी सक्दैनौं, सक्न हुदैन ।’