धरान: धरानमा भइरहेको सुनसरी जिल्ला नकआउट फुटबल प्रतियोगितामा धरान फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

शनिबार धरान रंगशालामा भएको सेमिफाइनलमा टेम्के–११ लाई १–० गोल अन्तरले पराजित गर्दै धरान फाइनलमा प्रवेश गरेको हो । धरानका लागि एकमात्र गोल धिरेन लिम्बूले गरे । फ्रिकिक गोलमा धरानका खेलाडीले गरेको हेड बल पोलमा लागेर फर्किएको बललाई लिम्बूले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच घोषित भएका लिम्बूलाई धरान फुटबल क्लबका सल्लाहकार मिन सुब्बाले पदक प्रदान गरेका थिए ।

त्यस्तै गरी शनिबार नै भएको अर्काे खेलमा जित दर्ता गर्दै दुहबीको इलेभेन एरोज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एलेभेन एरोजले धरानको गोधुली क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । एलेभेन एरोजका लागि अजय चौधरीले गोल गरे । उनले गोल किपर अगाडी बढेको अवस्थामा चिप गर्दै गोललाई जाली चुमाएका थिए । खेलको म्यान अफ द म्याच घोषित भएका चौधरीलाई एन्फा एकेडेमीका प्रशिक्षक सुमन राईले मेडल प्रदान गरेका थिए । इलेभेन एरोजले आइतबार इटहरीको राष्ट्रिय जागृतीसँग सेमिफाइनमा प्रतिष्पर्धा गर्नेछ भने सेमिफाइनको विजेताले सोमबार धरान फुटबल क्लबसँग फाइनल खेल्नेछ ।