धरान: राष्ट्रिय लिग खेल्ने लक्ष्य राखेको धरान फुटबल क्लब धरानमा जारी एन्फा सुनसरी जिल्ला लिग फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ ।

आज सोमबार धरान १६ स्थित प्रादेशिक रंगशालामा भएको फाइनल खेलमा राजा क्लब इटहरीलाई १–० को झिनो गोलअन्तरले हराउदै धरान जिल्ला लिग च्याम्पियन बनेको हो । पहिलो हाफ गोल रहित बराबरी भएको थियो भने दोस्रो हाफमा एक मात्र निर्णायक गोल धरानका मनिष गुरुङले गरेका थिए । उनले दोस्रो हाफको २८ औं मिनेटमा निर्णायक गोल गरे ।

च्याम्पियन बनेको धरानले नगद ५० हजार र ट्रफी पायो भने उपविजेता राजा क्लबले नगद २५ हजार र उपविजेता ट्रफी हात पार्यो । आजको फाइनल खेलको म्यान अफ द म्याच राजा क्लब इटहरीका उमेश राई घोषित हुदै नगद १५ सय र मेडल पाए भने म्यान अफ द सिरिज धरानका युशुफ थपलिया घोषित हुदै नगद ३ हजार र ट्रफी हात पारे । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष राई र एन्फा केन्द्रीय सदस्य दिपक राईले पुरस्कार वितरण गरेका थिए ।

dfcc

अब भोली(मंगलबार)देखि धरान रंगशालामा नै मुख्यमन्त्री कप प्रदेश लिगअन्र्तगत २ नं क्षेत्रको प्रतियोगिता शुरु हुनेछ । प्रतियोगिता सुनसरी च्याम्पियन धरान फुटबल क्लबसँगै धनकुटाको बौद्धिक विकास समिति, तेह्रथुमको तेह्रथुम जिल्ला फुटबल संघ, संखुवासभाको मिरमिरे यूवा क्लव र भोजपुुरको कोदार फुटबल क्लव सहभागी हुनेछ ।