धरान: सरकारले सहायक राजमार्ग कायम गरेर १४० फुट मापदण्ड लागु भएपछि आन्दोलनरत धनकुटे रोड संघर्ष समितिले आज धरान उपमहानगरपालिका नगर कार्यपालिकाको बैठक भइरहदा कार्यालय घेराउ गरेका थिए । सो क्रममा संघर्षरत स्थानीय र कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीका स्वकिय सचिवबीच भनाभन हुदा केहीबेर कार्यलय परिसर तनाव सृर्जना भएको थियो ।

धनकुटे रोडबासीहरु सोमबार पनि ७२ फुट मापदण्ड कायम हुनुपर्ने भन्दै उपमहानगरपालिका पुगेका थिए । उपमहागनरले भोली(मंगलबार) कार्यपालिका बैठकमा यो बिषय छलफल गर्ने भन्दै आश्वासन दिएर वडाबासीहरुलाई पठाएको थियो । आज बैठक शुरु भएपछि धनकुटे रोडबासीहरु उपमहानगरपालिका परिसरमा भेला भएका थिए । उनीहरुले नाराबाजीसमेत गरे । सोही क्रममा विवाद हुदा स्वकिय सचिव चापागाईप्रति धनकुटे रोडबासीहरु आक्रोशित हुदै झम्टिएका थिए । नगर प्रहरी र प्रहरीको उपस्थिति भएको कारण अप्रिय घटना हुन भने पाएन । संघर्ष समितिका हर्क साम्पाङ र कार्यवाहक मेयर भण्डारीका स्वकिय सचिव चापागाईबीच भनाभनले उग्ररुप लिएको थियो । केही समयपछि स्थिति सामान्य भएको थियो ।

साम्पाङले सडकको मापदण्डले जनता अन्यायमा परेको हुनाले सुनुवाईको माग गर्दै उपमहानगर पुग्दा थप अन्याय परेको बताए । चापागाईले आफुहरुलाई जथाभावी भनेको उनले आरोप लगाए । 'बोल्ने तरिका नै भएन,'उनले भने । तर, यता कार्यवाहक मेयरका स्वकिय सचिव चापागाईले भने सम्झाउन खोज्दा असझदारी भएर हर्क साम्पाङले चर्को स्वरमा बोल्न थालेपछि आफु पछि हटेको बताए । 'कार्यपालिका बैठकको निर्णयबारे छलफल गर्न भित्र जाउ भन्दा असझदारी भएर उहाँसँग सामान्य भनाभन जस्तो भएको हो, अन्यथा केही होइन,'चापागाईले भने ।

dharan-bikash-birodh

चापागाईका अनुसार कार्यपालिका बैठकले यसअघि नै ७२ फुट कायम गर्ने निर्णय गरेको र जनताले त्यसलाई कार्वान्वयन गर्नुपर्ने दबाब दिएपछि आजको बैठकमा यो बिषयमा छलफल भएको थियो । बैठकले भौतिक निर्माण मन्त्रालय, सडक विभागमा कार्यवाहक मेयरको नेतृत्वमा डेलिगेशन जाने र उक्त टिममा वडाअध्यक्ष, वडाबासीहरुलाई पनि लैजाने निर्णय गरेको थियो । एक महिनाभित्र निष्कर्षमा पुग्ने गरी डेलिगेशन जाने निर्णयबारे जानकारी गराउन बैठक कक्षमा बोलाउदा असझदारी भएर भनाभन भएको चापागाईले दाबी गरे ।

मदन भण्डारी सहायक राजमार्ग कायम भएपछि धरानको धनकुटे रोडबासीहरु आन्दोलनमा छन् । यो सडक १४० फुट कायम हुदा धेरैको उठिबास हुन्छ । हाल १४० फुट मापदण्डअनुसार मात्र बैंकिङ कारोबार र घरनक्सा पास हुन्छ । उपमहानगरले ७२ फुट कायम गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन ।