धरान : श्रावणको सोमबार जल अर्पणका लागि प्रसिद्ध पिण्डेश्वर बाबाधाममा सोमबार सिक्किमदेखि स्यांजासम्मका भक्तजनहरु सहभागी भएका छन् ।

धरानको विजयपुरमा अवस्थित श्री पिण्डेश्वर महादेवमा यसपटक भारत सिक्किमका धेरै भक्तजनहरु सहभागी भएका थिए । यसैगरी स्यांजाको उत्तरगंगाबाट जल ल्याएर अर्पण गर्न एक टोली नै सोमबारनै यहा आइपुगेको थियो ।
यसैगरी विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले पनि सोमबार चतराको कोशी नदीबाट जल ल्याई पिण्डेश्वरमा अर्पण गरेका थिए । खाली खुट्टा सहभागी उनले श्री पिण्डेश्वर बाबाको महिमा अझ फैलाउन तीनै तहका सरकारले प्रयास गर्नुपर्ने बताए । पराजुलीले सानो आराधनामा पनि खुसी भइ बरदान दिने भएकाले भगवान् भोलेनाथ स्वरुप श्री पिण्डेश्वरको आराधना सबैका लागि उचित भएको बताए ।

यसैगरी सोमबार नै पिण्डेश्वरमा जल अर्पण गर्न सुनसरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिीवी गिरि तथा.सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपाने सहभागी भएका थिए ।

यस पटकको सोमबार धरानका कलाकारहरुले श्री पिण्डेश्वर परिसरमा स्वतःस्फूर्त कलाकार्यशाला समेत आयोजना गरेका छन् । धरानका अग्रज कलाकार प्रनोद दत्तको अगुवाइमा करिब १० कलाकारले कार्यशालामा ३० चित्र बनाएका थिए । जलरंगमा उनीहरुले पिण्डेश्वर मन्दिर, मेला आयोजना र मुहारचित्र बनाएका थिए । उनीहरुले तयार गरेको चित्र सोमबार नै बाबाधाम समितिलाई हस्तान्तरण समेत गरेका थिए ।

art