औजार : आजको औजार दैनिकमा “यातायात कार्यालयमा अब टोकन मेसिन” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ को सरकारले यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई वायो मेट्रिक दर्ताका लागि टोकन मेसीन उपलब्ध गराइएको छ । कार्यालयहरुले गर्ने सेवाप्रवाहलाई सहज बनाउन प्रदेश नं. १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो दुई कार्यालयलाई टोकन मेसिन उपलब्ध गराएको हो । विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बोले कार्यालयका प्रमुखलाई सो मेसिन हस्तान्तरण गरेका हुन् । सात लाख रुपैयाँको लागतमा मेसिन खरिद गरिएको सडक तथा यातायात व्यवस्था कार्यालयका प्रमुख इञ्जिनियर रेवतीरमण पराजुलीले बताए । लाइनमा उभिनुपर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्त गराउन प्रदेशले सो मेसिन उपलब्ध गराएको भन्दै अन्य कार्यालयमा पनि यस्तै मेसिन उपलब्ध गराउने तयारीमा मन्त्रालय रहेको उनले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “डेरावालको कोठाबाट दिउँसै चोरी” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारी नगरपालिकामा दिउँसै चोरी भएको छ । वडा नम्बर ५ आनन्द मार्ग बस्ने भोजराज ढकालको घरमा डेरा गरी बस्ने गोमा बस्नेतको कोठाको ताला फोरी कोठाभित्रबाट नगद तथा सरसामान चोरी भएको हो । दराजमा रहेको रु ८० हजार र साढे ३ तोला सुन चोरी भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । प्रहरी टोली खटिई गई कानुनी प्रक्रिया पूरा गरी चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य तथा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, ग्रामथान गाउँपालिकामा चोरीको घटनामा संलग्न १ जना फरार प्रतिवादीलाई प्रहरीले मङ्गलबार साढे ९ बजे राति पक्राउ गरेको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “गाईघाट–फोक्सिन्टार सडक सुचारु” शीर्षकको समाचार छापिएको छ । पहाडी जिल्ला खोटाङलाई राजधानी र अन्य शहरसँग जोड्ने गाईघाट दिक्तेल सडक वर्षाले अवरुद्ध भएको दुई सातापछि खुलेको छ । असार अन्तिम सातादेखि परेको साताव्यापी अविरल वर्षाका कारण दर्जनभन्दा बढी ठाउँमा पहिरो गएर अवरुद्ध भएको सडक लगातार मर्मतपछि सुचारु भएको हो । लगातारको वर्षाले गाईघाट–साउने–रानीबास–छामलिङ–अधेरी–जल्केनी –पोखरी–फोक्सिन्टार खण्डमै दर्जन ठाउँमा गएको साना तथा ठुला पहिरोले यातायात आउजाउ रोकिएको थियो । रानीबास–अधेरी खण्डमा गएको अँधेरी खोलानजिकैको पहिरोले सडक पुरिएपछि असार २८ गतेदेखि रोकिएको यातायात आवागमन ३ दिन मर्मत गरेपछि सुचारु भएको थियो । तर, फेरि परेको वर्षाले गाईघाटदेखि ४३ किलोमिटर टाढा जल्केनीमा खसेको लामो पहिरोले सातादिनपछि पुनः यातायात अवरुद्ध हुन पुगेको थियो । अवरुद्ध सडक सुचारु ग्र्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले लगातार साताव्यापी मर्मत गरेपछि सुचारु भएको कार्यालय प्रमुख पशुपति ज्ञवालीले बताए ।