महोत्तरी: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश नं २ को शपथ ग्रहण कार्यक्रममा झडप भएको छ ।

बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा भएको कार्यक्रममा झडप भएको हो । सपथ ग्रहण कार्यक्रममा सिरहा र सप्तरी जिल्ला कमिटिको असन्तुष्ट पक्षले विरोध जनाएको थियो । उनीहरुको विरोध पछि पनि कार्यक्रम निरन्तर हुने अवस्था भएपछि झडप भएको हो । कार्यक्रममा प्रदेश २ का ८ वटा जिल्ला मध्ये बारा र पर्सा बाहेकको अन्य ६ जिल्लाको सपथ ग्रहण हुने निधो गरिए पछि सिरहा र सप्तरी कमिटिको असन्तुष्टी थियो । कमिटिमा सक्रियलाई पाखा लगाएर शीर्ष नेताको आसेपासेहरुले पाएको भन्दै कार्यकर्ताहरु असन्तुष्ट थिए ।

कार्यक्रममा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात भएको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी थियो । असन्तुष्ट पक्षको तिव्र विरोध पछि उनीहरु आउने कार्यक्रम रद्द भएको छ । विरोधका बीच सिराह र सप्तरीको नवगठित जिल्ला कमिटीलाई प्रदेश २ का अध्यक्ष प्रभु साहले सपथ ग्रहण गराउने प्रयास भएपछि असन्तुष्ट पक्षले हल भित्रै तोडफोड गरेका थिए ।