इलाम: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरुन्जेल आफु अध्यक्ष नै रहने वताएका छन् ।

आज इलाममा भएको पत्रकार सम्मेलनका क्रममा उनले सल्लाह, छलफल र सहमतिले नै पार्टी एकिकरण भएको भन्दै अब पनि सहमतिकै आधारमा आफु अध्यक्ष भएर नै पार्टी चलाउने बताएका हुन् । पत्रकारहरुको प्रश्नमा उनले सहमती अनुसार अघि बढ्ने बताए । ‘एक जनाले सरकार चलाउने र एक जनाले पार्टी चलाउने सहमती भएको छ,’उनले भने, ‘सहमती भयो भने आधा आधा कार्यकाल बाँड्न सक्ने अन्यता यसै गरि पनि हामी अघि वढ्न सक्छौँ ।’

सरकारका काम अहिलेसम्म जे जसरी अघि वढेपनि अव सरकारका कामले गति लिने अध्यक्ष दाहालको भनाई थियो । पार्टी एकिकरणको कामले गर्दा सरकारप्रति जनताको गुनासो आउनु स्वभाविक भएको उल्लेख गर्दै उनले जनतालाई निराश नबन्न आग्रह गरे । जति चाँडो पार्टी एकिकरण टुंगिने आशा गरिएको थियो, त्यो अनुरुप नभएपनि अब पार्टी एकिकरणको काम अन्तिम चरणमा आएको उनले बताए । करिव १५ महिनामा आउँदा इलामले प्रशंसा गर्ने गरि पार्टी एकिकरणलाई अगाडी बढाएकोमा गर्व गर्दै उनले अन्य जिल्लाहरुले पनि इलामको सिको सिक्न आग्रह गरे ।

फरक प्रसगमा उनले सरकार प्रेसमैत्री भएको उल्लेख गर्दै प्रेसलाई अंकुश लगाउन हालको सरकार नलागेको धारणा राखे । उनले जनचाहाना र भावना अनुसार अघि वढ्ने सरकार कुनै पनि हालतमा प्रेस बिरोधी हुन नसक्ने दाबी गरे । पत्रकारहरुको जिज्ञाशामा उनले अमेरिका र चीनका विषयमा आफुले दिएको अभिब्यक्ति प्रति कुनै देशका राजदुत मार्फत आधिकारिक पत्र र धारणा नआएको वताउँदै उनले परराष्ट्र नीति नेपालको छर्लंग भएको बतए । स्वतन्त्र विदेश निति भएको उल्लेख गर्दै उनले परराष्ट्र अव पनि स्वतन्त्र नै रहने बताए । नेपकाका अध्यक्ष दाहाल कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि इलाम आएका हुन् ।